ताप्लेजुङमा नेकपाको एकता टुंगियो

बसन्त लिम्बू, ताप्लेजुङ । ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुङ्गिएको छ । जिल्ला कार्यदलको वैठकले ताप्लेजुङका नौवटै स्थानीय तहको नेतृत्व टुंगो लगाएको हो ।  सुनसरीको इटहरीमा बसेको नेकपा कार्यदलको बैठकले इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवमा सहमति जुटाएको हो । कार्यदलका एक सदस्यका अनुसार पूर्व एमालेबाट पाँच तहको अध्यक्ष र छ तहको इन्चार्ज तथा पूर्वमाओवादीबाट चार तहको अध्यक्ष र तीन तहमा इन्चार्ज रहनेछन् ।

स्रोतका अनुसार फुंलिङ नगरपालिकाको इन्चार्जमा पूर्व माओवादीका सागर गौतम, सहइन्चार्जमा पूर्व एमालेका भरतकुमार गुरुङ, अध्यक्षमा पूर्व एमालेका हेमन्तकुमार उप्रेती र सचिवमा पूर्व माओवादीका सुरेन्द्र पालुंवाको नाममा सहमति जुटेको छ ।

यसैगरी, मैवाखोला गाउँपालिकाको इन्चार्जमा पूर्वमाओवादीका ध्रुवकुमार वनेम र सह–इन्चार्जमा पूर्व एमालेका खेमबहादुर वनेम, अध्यक्षमा पूर्व एमालेका अनिलदेव लङ्वा र सचिवमा पूर्व माओवादीका आलोक शेर्पा रहेको स्रोतले जनाएको छ ।  यता आठराई त्रिवेणी गाउँपालिकाको इन्चार्जमा पूर्व एमालेका कृष्ण सुवेदी तथा सहइन्चार्जमा पूर्व माओवादी केन्द्रका सूर्य आङ्वुहाङ तथा अध्यक्षमा पूर्व माओवादीका मणि सेम्बु र सचिवमा पूर्व एमालेका दीपेन पोमूको नाम सिफारिस गरिएको छ ।

उता मेरिंदेन गाउँपालिकाको इन्चार्जमा पूर्व एमालेका मंगलसिंह केदेम र सह इन्चार्जमा पूर्व माओवादीका विशाल शेर्पा, अध्यक्षमा पूर्व एमालेका नेत्र नेपाली र सचिवमा पूर्व माओवादी केन्द्रका देउप्रसाद लिम्बूको नाम टुंगो लागेको हो । सँगै सिदिंवा गाउँपालिकाको इन्चार्जमा पूर्व एमालेका नन्दलाल गौतम तथा सह इन्चार्जमा पूर्व माओवादी केन्द्रकी बन्दना कडरिया, अध्यक्षमा पूर्व माओवादी केन्द्रका प्रेम सेलिङ तथा सचिवमा पूर्व एमालेका मानबहादुर राई रहने गरी सहमति जुटेको छ । यता मिक्वाखोला गाउँपालिकामा पूर्व माओवादी केन्द्रका चन्द्रकला गुरुङ इन्चार्ज तथा पूर्व एमालेका ताराहाङ लिम्बूलाई सहइन्चार्ज, अध्यक्षमा पूर्व एमालेका दिवस लिवाङ र सचिवमा पूर्व माओवादीका खड्ग साँवालाई जिम्मेवारी दिइएको छ ।

सिरीजङ्गा गाउँपालिकाको इन्चार्जमा पूर्व एमालेका अनन्तबहादुर साँवा तथा सह इन्चार्जमा पूर्व माओवादी केन्द्रका मदन दाहालको नाम सिफारिस हँुदा अध्यक्षमा पूर्व माओवादी केन्द्रका तेजशमशेर भट्टराई अध्यक्ष तथा पूर्व एमालेका सन्तोष चाम्लिङलाई सचिवको जिम्मेवारी दिने निर्णय गएको छ । यस्तै, पाथीभरा यांवरक गाउँपालिकाको इन्चार्जमा पूर्व एमालेका केशरकुमार मेन्याङ्वो र सहइन्चार्जमा पूर्वमाओवादी केन्द्रका ठाकुरसिंह लिम्बू तथा अध्यक्ष पूर्व एमालेका पुण्यप्रसाद खतिवडा र सचिव पूर्वमाओवादी केन्द्रका भीम काङ्वा रहने छन् ।

यसैबीच फक्ताङ्लुङ गाउँपालिकाको इन्चार्जमा पूर्व एमालेका सरोज एभेङ तथा सहइन्चार्जमा पूर्व माओवादीका मानबहादुर केसी तथा अध्यक्षमा पूर्व माओवादी केन्द्रका दिलकुमार लिम्बू र सचिवमा पूर्व एमालेका मिलन साउदेनको नाम सिफारिस भएको छ । कार्यदलले औपचारिक रूपमा निर्णय सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया