लालीगुराँससँग तस्वीर खिच्न काहुँडाँडा

चिप्लेढुङ्गा । पोखरा महानगरपालिका–११ स्थित काहुँडाँडामा गुराँसले ढपक्क ढाकेको रुखमुनि फोटो खिच्नेको भीड देख्न सकिन्छ । पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत काहुँडाँडा पछिल्लो समय आन्तरिक पर्यटकका लागि दृश्यावलोकन र वनभोजस्थलका रूपमा आर्कषक गन्तव्य बन्दै गएको छ । शहरबाट नजिक लालीगुराँस फुल्ने यस डाँडामा लालीगुराँस फूल टिप्न निषेध गरिएको छ । जोगाइएका लालीगुराँसमा पर्यटकले फोटो खिचेर रमाउने गरेका छन् ।

समुद्री सतहदेखि एक हजार ४४४ मिटरको उचाइमा रहेको काहुँडाँडामा तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल र यस क्षेत्रका सामाजिक अभियानकर्मीका रूपमा परिचित स्व मेजर वीरसिंह गुरुङको सक्रियतामा निर्माण भएको काहुँ धरहराले पनि आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । धरहराबाट पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडासहित माछापुच्छे« र अन्नपूर्ण हिमशृङ्खलाका सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

पोखराको महेन्द्रपुलबाट साढे सात किलोमिटरको दूरीमा रहेको उक्त स्थल पुग्न साढे पाँच मिटरको पक्की बाटोले पनि पर्यटकलाई सहज भएको स्थानीय नवराज क्षेत्रीले बताए । काहुँडाँडामा प्राचीन समयमा काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काहुँडाँडा रहन गएको क्षेत्रीको भनाइ छ ।

ऐतिहासिक काहुँडाँडा धरहरा संरक्षण समितिका अध्यक्ष इन्द्र गुरुङले काहुँडाँडाको विशेषतानै शहरको नजिकबाट लालीगुराँससँगै माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाका सुन्दर दृश्य देखिनु रहेको बताए । प्राकृतिक सुन्दरतामा रमाउन चाहने जोकोहीका लागि एउटा उत्कृष्ट र आकर्षक गन्तव्य भएको उनको भनाइ छ ।

मौसम सफा भएको बेला माछापुच्छे«, अन्नपूर्णलगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिने यस क्षेत्रको विकासका लागि पर्यटन मन्त्रालयले रु ५० लाख रकम विनियोजन गरेको गुरुङले बताए । ऐतिहासिक धरहरालाई संरक्षण गर्दै आधुनिक धरहरा बनाइने उनको भनाइ छ । गुरुङका अनुसार दैनिक १५० देखि २०० मानिस अवलोकनका लागि यहाँ आउने गर्छन् भने शनिबार र सार्वजनिक विदाको दिन ५०० माथि पर्यटक आउने गरेका छन् ।

धरहरा चढ्न चाहने पर्यटकले रु २० को टिकट काट्नु पर्छ । वनभोजका लागि भने क्याटरिङसहित जानेले रु तीन हजार र क्याटरिङ नलिई जानेले रु १५ सय समितिलाई बुझाउनुपर्छ । विशेषगरी मङ्सिर, पुुस, माघ र फागुन महीना काहुँडाँडा घुम्न र वनभोज खाने आउनेको भीड हुने गर्दछ ।

डाँडाको हरियाली, स्वच्छ हावा तथा मनोरम प्राकृतिक सुन्दरताले आफूलाई मोहित गराएको पोखरा बगरबाट घुम्न आएका वेद गुरुङले बताए । उनले भने, “पोखरा नजिक यति सुन्दर ठाउँ रहेछ, घुम्ने अवसर बल्ल मिल्यो, पारिवारिक वनभोज खान सपरिवार आएका छौँ ।

ग्रामीण पर्यटनको विकास गर्दै पोखराकै एक उत्कृष्ट दृश्यावलोकन गन्तव्य निर्माण विकास गर्ने प्रयास भइरहेको स्थानीयवासी एवं पत्रकार दामु आचार्यले बताए । उनका अनुसार १६१ रोपनी सामुदायिक वन र आठ रोपनी व्यक्तिको गरी १६९ रोपनीमा धर्मकाया बुद्धमण्डला निर्माण हुँदैछ, जहाँ विशाल बुद्धको मूर्ति र वरिपरि यशोधरा उद्यानको विस्तृत परियोजना प्रतिवेदन तयार हुँदै गरेको आर्चायले जानकारी दिए ।

यस वडाका अध्यक्ष मोहनप्रसाद बास्तोलाले यो क्षेत्रको विकासले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि भुमिका खेल्ने बताए ।

प्रतिक्रिया