खनालको गीति एल्बम आउँदै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नयाँ गीति संग्रह ‘परिवर्तनका स्वरहरू भाग २’ बजारमा आउने भएको छ । गीतमा विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी रहेका गीतमा मिलन तिमल्सिनाको संगीत र विभिन्न गायकगायिकाको आवाज रहेको छ । यही ९ चैत प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट सार्वजनिक हुने जनसांस्कृतिक महासंघ नेपालले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

पूर्वप्रधानमन्त्री खनालले आफूले ०६२÷६३ सालको आन्दोलनपछि देशप्रेम, विकास, निर्माण, समृद्धि, आमा, गृह जिल्ला इलामका सन्दर्भहरूमा लेखिएका गीतहरू संग्रहमा समावेश गरिएको जानकारी दिए । उनले आन्दोलनको चरण सकिएकाले अब स्रष्टाले विकास र निर्माणका साथै समृद्धिका पक्षमा कमल चलाउनुपर्नेमा जोड दिए । उनले भने, ‘कला, साहित्यविनाको राष्ट्र खोक्रो हुन्छ । यसको विकासका लागि राज्यले पहलकदमी लिनुपर्दछ ।’ खनालको यसअघि पहिलो गीति एल्बम ‘परिवर्तनका स्वरहरू भाग १’ ०६५ सालमा तत्कालीन नेकपा एमालेको आठौं महाधिवेशनमा सार्वजनिक भएको थियो ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सरल सहयात्री र खगेन्द्र राईले जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक कामको व्यस्त तालिकाबाट समय निकालेर साहित्य, कला र संस्कृतिमा कलम चलाएर नेता खनालले यस क्षेत्रलाई कार्यसूचीमा राखेको पाइनु सकारात्मक रहेको बताएका छन् । उनका गीतहरूमा समाजमा रहेका तल्लो वर्गले भोग्नु परिरहेका कथा व्यथा, राष्ट्रिय एकता, धार्मिक सांस्कृतिक सहिष्णुता, सामाजिक सद्भाव प्रवद्र्घन गर्ने विचारहरू प्रतिध्वनित भएको विज्ञप्तिमा उल्लेख छ । गीतमार्फत उनले समाजभित्र रहेका लैंगिक, जातीय एवं वर्गीय उत्पीडन, अन्याय, अत्याचार, शोषण, दमन र सामाजिक भेद्भावविरूद्घ सामाजिक न्याय र समानता सहितको सुन्दर र समृद्ध समाज निर्माण गर्ने उच्च लक्ष्यमा केन्द्रित रहेको सहयात्री र राईले जनाएका छन् । उनका सिर्जनाहरू नेपाली समाजलाई राष्ट्रिय एकता निर्माण गर्न, सामाजिक न्याय र सद्भाव कायम गर्न, धार्मिक–सांस्कृतिक सह अस्तित्व अक्षुण्ण राख्न उत्प्रेरित गर्ने किसिमको रहेको विज्ञप्तिमा जनाउँदै नेपाली समाजको सार्थक रूपान्तरण खनालका सिर्जनाहरूको मुख्य धेय रहेको बताइएको छ ।

त्यस्तै, महासंघको आयोजनामा सशस्त्र युद्धकालमा सातजना जनकलाकारको ०५५ साल चैत ५ गते काभे्रको अनेकोटमा हत्या गरिएको स्थलमा मंगलबार कलाकारहरूको सम्मानसहित सांस्कृतिक दिवस मनाउने भएको छ । जनयुद्धका क्रममा हत्या गरिएका सातजना कलाकारको सम्झनामा सहिद स्तम्भसहित कार्यक्रम गर्न लागिएको महासंघका अध्यक्ष सरल सहयात्रीले बताए । उनले भने, ‘नेपालको परिवर्तनकामी आन्दोलनमा सहादत प्राप्त गर्ने सांस्कृतिक सहिदको स्मृतिमा कार्यक्रम गर्न लागिएको हो । यसले इतिहासको मूल्यांकन र सम्मान गर्ने विश्वास हामीले लिएका छौं ।’

उक्त अवसरमा आठजना स्रष्टालाई सम्मान गर्न लागिएको सहयात्रीले जानकारी दिए । उनका अनुसार जनसांस्कृतिक दीर्घ सम्मानबाट जेवी टुहुरे र संगीततर्फको सम्मान मरणोप्रान्त खुसीराम पाख्रिनलाई प्रदान गरिने भएको छ । त्यसैगरी साहित्यतर्फको सम्मान साहित्यकार कुन्ता शर्मा, चलचित्रतर्फ प्रेम सुब्बा, नाटकतर्फ कृष्णभक्त महर्जन, गायनतर्फ कर्णबहादुर परियार ‘विद्रोही’, ललितकलातर्फ नरेन्द्रप्रसाद भण्डारी र नृत्यतर्फ शान्ति कठायत ‘प्रतिक्षा’ लाई प्रदान गरिने भएको छ । सम्मानितलाई जनही १५ हजार तथा ताम्रपत्रद्वारा सम्मान गरिने महासंघले जनाएको छ । उक्त सम्मानका लागि स्रष्टा श्याम टमोटको संयोजकत्वमा वरिष्ठ कलाकार मानबहादुर दोङ, चलचित्रकर्मी नवल खड्का, भूमिका सुब्बा र साहित्यकार सीता शर्मा रहेको पाँच सदस्यीय समिति उक्त नाम सिफारिस गरेको थियो ।

विगतमा तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट सांस्कृतिक महासंघले चैत ५ गतेलाई सांस्कृतिक प्रतिरोध दिवसका मनाउने गरेकामा पार्टी एकतापछि र पार्टी सरकारमा भएको स्थितिमा सांस्कृतिक दिवस मनाउन लागिएको महासंघका महासचिव प्रेमनाथ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया