अफगानिस्तानलाई सफलता

एजेन्सी, काबुल । अफगानिस्तानले टेस्ट क्रिकेटमा पहिलो जित दर्ता गर्ने क्रममा आयरल्यान्डमाथि सात विकेटको विजय हात पारेको छ । टेस्ट क्रिकेटमा सँगसँगै पाइला टेकेको आयरल्यान्डलाई स्तब्ध बनाउँदै अफगानिस्तानले मंगलबार पहिलो पटक टेस्टमा सफलता प्राप्त ग¥यो ।

यसअघि गत जनवरीमा भारतविरुद्ध पहिलो टेस्टमा इनिङ र २ सय ६६ रनको लज्जास्पद हार बेहोरेको अफगानिस्तानले एक वर्षपछि नै आयरल्यान्डमाथि सफलता निकाल्न सफल भयो । आयरल्यान्डले पनि गत मेमा पाकिस्तानसँगको पहिलो टेस्टमा पाँच विकेटको हार बेहोरेको थियो । जुन हारको शृंखला अफगानिस्तानसँग पनि दोहो¥यायो ।

अफगानिस्तानलाई टेस्टमा क्रिकेटमा पहिलो सफलता दिलाउन राहमत साह र इन्सल्लाह जन्नतले बलियो अर्धशतकीय योगदान दिँदा आयरल्यान्डले प्रस्तुत गरेको १ सय ४७ रनको लक्ष्य चौथो दिनको खेलमा पूरा ग¥यो । साह र जन्नतले दोस्रो विकेटका लागि १ सय ३९ रनको बलियो साझेदारी गरेका थिए । त्यस क्रममा साह ७६ रन बनाएर आउट हुँदा डेब्युटेन्ट जन्नत ६५ रनमा अविजित रहे ।

साहले शृंखला जिताउन उत्कृष्ट ब्याटिङ गर्दै दोस्रो अर्धशतक प्रहार गरे । यसअघि पहिलो इनिङमा साह शतकनजिक पुगेर पनि ९८ रनमा आउट हुँदा अफगानिस्तानले ३ सय १४ रनको योगफल खडा गरेको थियो । अफगानिस्तानलाई शृंखला जितका लागि ३ रन आवश्यक हुँदा भरपर्दो ब्याट्सम्यान साह पवेलियन फर्किएलगत्तै मोहम्मद नावी पनि १ रनमै रनआउट भए ।

यद्यपि, त्यसपछि ब्याटिङमा आएका हस्मतउल्लाह साहिदीले पहिलो बलमै चौका प्रहार गर्दै अफगानिस्तानलाई सहज जित दिलाए । अफगानिस्तानलाई सफलता दिलाउन एकदिवसीय क्रिकेटका नम्बर एक स्पिनर रसिद खानले आयरल्यान्डविरुद्ध पाँच विकेट निकालेका थिए । आइतबारकै तेस्रो दिनको खेलमा खानले पाँच विकेट निकाल्दा आयरल्यान्डको दोस्रो इनिङ २ सय ८८ रनमा खुम्चियो ।

खानले ५–८२ को करियरको उत्कृष्ट प्रदर्शन गरे पनि आयरल्यान्डका एन्डी बलबिर्नी र केभिन ओब्रायनले अर्धशतक प्रहार गरेका थिए । बलबिर्नीले ८२ रन र ओब्रायनले ५६ रनको योगदान दिँदा अन्तिम विकेटका लागि जेम्स क्यामरुन र टिम मुर्ताघले ५८ रनको साझेदारी गर्दै अफगानिस्तानविरुद्धको लक्ष्य उकास्ने प्रयास गरेका थिए ।  त्यसपछि ब्याटिङ गरेको अफगानिस्तानका ओपनर मोहम्मद साहजादलाई २ रनमै पवेलियन फर्काउँदै आयरल्यान्डका स्पिनर एन्डी म्याकब्रियनले आफ्नो टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

प्रतिक्रिया