आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

गुरमुरत यादव, बाँके । चैत्र २० गतेदेखि नेपालगञ्जमा शुरु हुन लागेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागी राष्ट्रिय खेलकुद परिषदको पुरै टोलि तैनाथ भएर तयारीलाई तिब्रता दिएकोे छ । प्रतियोगिता तयारीका लागि अहिले राखेपका सदस्य सचिव केशव बहादुर विष्ट सहित राखेपका पदाधिकारी र कर्मचारीहरू पनि नेपालगञ्जमा दिनरात खटिएका छन् । सबैजना मिलेर खटिएपछि नेपालगञ्जमा आयोजना गरिने सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालगञ्जको अस्तित्वसंग गाँसिएको सो प्रतियोगितालाई यसै बर्षमा सम्पन्न गर्ने गरी सबैजना अहोरात्र खटिएका बताएका छन् ।

प्रतियोगिता तयारीको निरिक्षण र अनुगमन राखेप सदस्य सचिव विष्टले प्रत्यक्ष रुपमा आफै गरिरहेका छन् । उनलाई प्रादेशिक खेलकुद विकास समितिका अध्यक्ष भिम ओली लगायतका पदाधिकारी र कर्मचारीहरूले सघाई रहेका छन् । विभिन्न उपसमितिका संयोजक लगायत पदाधिकारी पनि नेपालगञ्ज पुगेर तयारीलाई तिव्र पार्न सहयोग गरिरहेका छन् । यसैविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्टले चैत महिनाको १९ देखि नेपालगञ्जमा आयोजना गरिने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

सोही प्रतियोगिताको सन्दर्भमा विभिन्न खेलकुद संघका पदाधिकारी र ३५ वटा खेलका प्रशिक्षकहरूसंगको बैठकमा सदस्य सचिव विष्टले चालु आर्थिक बर्षमै प्रतियोगिता गर्ने राखेपको अठोट पुरा हुने बताए । यसैविच आइतवार नै रोहित दाहालको संयोजकत्वमा रहेको प्रचार प्रसार उपसमितिले पनि स्थानीय संचारकर्मीहरूसंग अन्तरक्रिया गरेको छ । उनले त्यसको लागि राखेपका सम्पूर्ण पदाधिकारी र कर्मचारी नेपालगञ्जमा जमेर बसेको जनाउँदै विभिन्न उपसमितिहरू पनि सक्रिय भैसकेको बताए ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने प्रादेशिक खेलकुद विकास समितिका अध्यक्ष ओलीले जानकारी दिए ।

मिडिया सेन्टरको उद्घाटन
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुनै पनि हालतमा चैतमै हुने बताएका छन । नेपालगञ्ज रंगशाला परिसरमा सोमवार मिडिया सेन्टरको उद्घाटन गर्दै सदस्य सचिव विष्टले चैतको २५ देखि ३० गतेसम्ममा प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको जानकारी दिँदै प्रतियोगिताका खेलहरू भने २० गतेदेखि नै शुरु गरिने जानकारी दिए ।

उनले भिआइपी प्याराफिट आउन ढिलाई भएका कारण मिति तोक्न समस्या भइरहेको बताऐ । ‘मँगलवार रातिसम्म प्याराफिट नेपालगञ्ज आइपुग्छ, त्यसपछि काम धमाधम अघि बढ्छ, बढीमा १५ दिनमा प्याराफिट बनाएर सकिन्छ,’ विष्टले भने । ‘हामी कुनै हालतमा पनि चैतमै प्रतियोगिता गर्छौं, तपाईंहरू विस्वस्त हुनुहोस, सदस्य सचिव विष्टले भने, ‘कुनै ठूलै प्रलय भए बैग्लै कुरा‘नत्र अब चैतमा प्रतियोगिता हुनबाट रोकिने कुनै कारण र अवस्था छैन, सबै उपसमितिहरूले तीब्र गतिमा काम गरिरहेका छन, ढिलोमा चैत अन्तिम सातासम्म प्रतियोगिता हुन्छ ।’

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले अब प्रतियोगिता हुँदैन कि भन्ने शंका हटेको बताए । ‘प्रतियोगिता २०७५ मै हुँदैन कि भन्ने शंका अब आजका दिनदेखि रहेन, सबै मिलेर यो मिसनलाई सफल बनाउन लागौं, प्रतियोगितालाई उपलब्धिमूलक र ऐतिहासिक बनाऔं, ओलीले भने ।’ सदस्य सचिव विष्टले सोमवार नै प्रतियोगिताको स्टिकर र जिंगल पनि लञ्च गरेका थिए ।

प्रतिक्रिया