प्रधानमन्त्रीको आलोचना गर्नेलाई जेल !

एजेन्सी, ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा सरकारी अधिकारीहरूले फुटबलको विश्वव्यापी गभर्निङ बडी फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको छ । उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । उनले प्रधानमन्त्री हसिनाले फुटबललाई बेवास्ता गरेको आरोप लगाएकी थिइन् ।

मानहानीको अभियोगमा उनको भनाइले सम्पूर्ण देशलाई नै हतोत्साहित गरेको आरोप लगाइएको बिबिसीले आफ्नो समाचारमा जनाएको छ । उनलाई शनिबार बंगलादेशी अदालतले धरौटीको अवसर प्रदान नगरी जेल पठाएको उनका वकिलले बताएका छन् । मानवअधिकार समुदायले हसिना सरकारले कडा कानुन प्रयोग गरेको भनेर सरकारको आलोचना गर्दै आइरहेका छन् ।

किरोनले हालैको एक टिभी अन्तर्वार्तामा प्रधानमन्त्रीले क्रिकेटमा मात्रै ध्यान दिएको र फुटबललाई बेवास्ता गरेको आरोप लगाएकी थिइन् । उनले प्रधानमन्त्रीले फुटबल र क्रिकेटमा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै व्यक्तिगत फाइदाका लागि उनले क्रिकेटलाई साथ दिएको तर फुटबललाई बेवास्ता गरेको आरोप लगाएकी थिइन् । उनीमाथि लगाइएको अभियोगमा खेलकुद मन पराउने प्रधानमन्त्रीलाई यस्तो आरोप लगाउँदा देशलाई नै हतोत्साहित बनाउने जिकिर गरिएको छ ।

प्रतिक्रिया