हिमालीका १६ सय निरक्षर साक्षर हुँदै

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाले गाउँपालिका भरीका निरक्षर व्यक्तिलाई यसै वर्षभित्र साक्षर बनाउने भएको छ । नेपाल सरकारको साक्षर अभियान नेपाल २०७५ अन्तर्गत गाउँपालिका भरीका १५ सय ८८ जनालाई साक्षर बनाउने भएको हो । साक्षर नेपाल अभियान २०७५ अन्तर्गत प्रत्येक गाउँमा सहजकर्ता खटाएर निरक्षरहरूलाई १२ वटा सूचकमा कम्तिमा सातवटा सूचक पूरा गर्ने गरी साक्षरता अभियान सुरु गर्न लागेको हो ।

सोमबार हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा सहजकर्ताहरूलाई सामग्री हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले गाउँपालिका भरीका कसैलाई पनि निरक्षर नरहने गरी प्रत्येक टोलमा सहजकर्ता खटाइ निरक्षता उन्मूलन गर्ने बताए । ‘हामीले गरेका ससाना कामबाट देशले ठूलो प्रगति गर्ने’ भन्दै अध्यक्ष मल्लले नेपाल सरकारको अभियानलाई साकार पार्न निरक्षरता नरहने गरी काम गर्न आग्रहसमेत गरे ।

अब ६० वर्षभन्दा मुनिका कोही पनि निरक्षर भएको अथवा ल्याप्चे लगाउने, शौचालयको प्रयोग नगर्ने, घरलाई गाउँपालिकाले दिने सामाजिक सुरक्षा भत्तालगायत सुविधा रोक्ने भएकाले सबै निरक्षरलाई साक्षरता कक्षामा सहभागी हुन आग्रह गरे । गाउँपालिकाले प्रत्येक वडामा सर्वेक्षण गरी हालसम्म निरक्षर रहेका व्यक्तिलाई साक्षर बनाउन यो अभियान चलाइ रहेको हिमाली गाउँपालिकाका सूचना अधिकारी गौरीकान्त संज्यालले बताए ।

हिमाली गाउँपालिकाको धुलाचौरस्थित भवानी आधारभूत विद्यालयमा सहजकर्ताहरूका लागि आयोजना गरिएको प्रशिक्षण समापन कार्यक्रममा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लसहित वडाध्यक्ष रमेश विक, जयबहादुर अधिकारी, स्रोत व्यक्ति विष्णुलाल पाण्डे र रेडियो बुढीनन्दाका प्रबन्धक नहकुल जोशीलगायत ४० जना सहभागीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया