सेमीमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका

मोरङ । साफ महिला च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने भएको छ । समूहबीको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–० गोलले हराएपछि नेपालले श्रीलंकालाई प्रतिद्धन्द्धी पाएको हो । सहिद रंगशाला विराटनगरमा भएको खेलमा भारतले सुरुआतदेखि नै श्रीलंकाको पोस्टमा आक्रमण गरेको थियो । जसका कारण उसले सात मिनेटभित्रमा नै दुई गोल गर्न सफल भयो । खेलको चौथो मिनेटमा ग्रिस डाङमेको गोलमा भारतले अग्रता बनायो । प्रतियोगिताको उनको यो दोस्रो गोल हो ।

त्यसपछि सातौ मिनेटमा भारतले दोस्रो गोल गर्यो । उसका लागि संध्या रंगनाथनले गोल गर्न सफल भइन् । त्यसपछि पनि भारतले आफ्नो आक्रमणलाई कायमै राख्यो । २१औं मिनेटमा भारतको डरलाग्दो मौकालाई श्रीलंकाकी गोलकिपर विजयरत्नाले बचाइन् । २५आंै मिनेटमा भारतको अर्को प्रहारलाई श्रीलंकाको डिफेन्सलाइनले बचायो । त्यसपछि खेलको ३६औं मिनेटमा इन्दुमतीले गोल गर्दै भारतलाई तीन शून्यको अगेरता दिलाइन् ।

४२औँ मिनेटमा भारतले पेनाल्टीको अवसर पायो । भारतकी सञ्जुको प्रहार रोक्ने क्रममा श्रीलंकाली खेलाडीले हातले बल छोएपछि पाएको पेनाल्टीलाई संगिताले गोल गर्दै टिमलाई पहिलो हाफमा चार शून्यको अग्रता दिलाइन् । पहिलो हाफमा चार गोलको अग्रता बनाएको भारतले दोस्रो हाफको सुरुवातमा नै पाँचौं गोल गयो । ४६औं मिनेटमा रतनबालादेवीले गोल गर्न सफल भइन् । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र भारत समूह बी बाट विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । हारपछि पनि उपविजेता बनेको श्रीलंकाले सेमिफाइनलमा बुधबार नेपालसँग र भारतले बंगलादेशसँग खेल्नेछन् ।

प्रतिक्रिया