दिगम्बरलाई रजत

काठमाडौं । नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले ऐतिहासिक पदक जितेको छ । नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए । यद्यपी नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो । यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा उनले मेक्सिकोमाथि १–० को जित निकालेर फाइनलमा स्थान बनाएर पदक पक्का गरेका थिए ।

यता ६० केजी मुनि तौल समूहमा विजय श्रेष्ठले कास्य पदक जितेका छन् । उनले कास्य पदकका लागि भएको भिडन्तमा आइभरी कोस्टका खेलाडी काउबाली अब्दुलयीलाई ७–० ले हराएर पदक जितेका हुन् । त्यसअघि उनले प्रिक्वार्टरफाइनलमा चीनका खेलाडीमाथि ४–२ को जित निकालेका थिए। यस्तै क्वार्टफाइनलमा हङकङका खेलाडीसँग २–२ को अंक बराबरी भए पनि विजयले सेन्सु विजेता बनेर सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा भने उनी काजकिस्तानका खेलाडीसँग ४–० ले पराजित भएका थिए ।

नेपालले १७ वर्षपछि सितोरियोको विश्व च्याम्पियनसिपमा पदक जितेको हो। यसअघि नेपालले सन् २००२ मा टिम फाइटमा कास्य जितेको थियो । यसअघि व्यक्तिगत कातामा नेपालका परशुराम बास्तोला क्वार्टरफाइनलमा मेक्सिकोका खेलाडीसँग ४–१ ले पराजित भएका थिए ।

यस्तै, गणेशबहादुर थिङ पनि सफल हुन सकेनन् । ६७ केजी तौलमा नेपालका अनिस लामा पहिलो खेलमै पराजित भएका थिए । नेपाली टिमको प्रशिक्षकमा सागका स्वर्ण विजेता कुशल श्रेष्ठ तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ हेड अफ डेलिग्रेड्सको रुपमा जापान गएका थिए। जापानमा भएको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई एनआरएनए ग्लोबल र जापान च्याप्टरले सहयोग गरेका छन् । प्रतियोगितामा ३९ देशका करिब १ हजार २ सय खेलाडीले भाग लिएका छन् ।

सितोरियो विश्व च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेपछि प्रशिक्षक श्रेष्ठले नेपाली खेलाडी सितोरियो करातेमा राम्रो भएको सन्देश गएको बताए। उनले भाग लिएका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए। ’भाग लिएका ५ खेलाडी मध्ये २ जनाले मेडल जित्नु उत्कृष्ट नजिता हो,’ श्रेष्ठले भने, ’यस्तै प्रतियोगितामा भाग लिइरहने हो भने हामीले आउदै गरेको साग गेम्स र ओलम्पिकमा राम्रो गर्न सक्छौ। सन् २०२० मा जापानमै हुने ओलम्पिक्समा पहिलो पटक करातेमा प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया