आज जंगबहादुरको श्राद्ध

काठमाडौं । जहानियाँ राणा शासनका पहिलो प्रधानमन्त्री जंगबहादुर राणाको आज सोमबार श्राद्ध गरिँदै छ । उनको वर्षमा दुईपटक श्राद्ध गरिँदै आइएको छ । गुठी संस्थानको पहलमा हरेक वर्ष झैँ यस वर्ष पनि फागुन शुक्ल द्वादशी अर्थात् गोविन्द द्वादशी तिथीको दिन राजधानीको थापाथली दरबारस्थित कालमोचनघाटमा जबराको श्राद्ध आयोजना गरिएको छ ।

संस्थानले सोह्रश्राद्ध र गोविन्द द्वादशीका दिन गरी वर्षमा दुईपटक जबराको श्राद्ध गर्दैै आएको कालमोचनघाट पुजारी गोविन्द प्रसाद कोइरालाले बताए ।  ‘कोत पर्व पश्चात् जबराकै पहलमा आफुले गरेको कुकर्मबाट पुण्य मिलोस् भन्ने हेतुले कालमोचनघाट अर्थात् जंगहिरारत्न मन्दिर निर्माण गरिएको इतिहास् छ’ कोइरालाले भने, ‘यस दिन पञ्चामृत, मालपुवा, रोटी, दही पुरी तथा १५ कतारोसहित विधिपूर्ण रूपले श्राद्ध गरिदिने चलन छ ।’ श्राद्ध सम्पन्न भएपछि थापाथली बाटो हँुदै हिड्ने बटुवालाई प्रसादसमेत बाँडिने प्रचलन छ ।

सो दिन जंगबहादुरका सन्ततीहरूले श्राद्ध गरिदिने गरेका छन् । श्राद्धको दिन राणा परिवारको पूर्ण उपस्थिति नरहने गरेको कोइरालाको भनाइ छ ।  आफ्नो निधन भएपछि सन्तानले उचित रूपमा दान पिण्ड दिन सकून् भनेर जबराले तत्कालीन राजा सुरेन्द्रविक्रम शाहसँग रकम मागेर कालमोचनको जग्गा खरिद गरि त्यहाँ आफ्नो सालिक बनाएका थिए ।
सोही परिसरमा अवस्थित जंग हेम हिरण्य मन्दिर संरक्षणको कार्य पनि सुरु भइसकेको छ । भूकम्पले भत्काएको उक्त मन्दिरको निर्माणको जिम्मा पुरातत्व विभागले लिएको छ । ०७५ असारसम्म काम सम्पन्न गरिसक्ने उदेश्यले बनेको यो ३ वर्षे योजना हो । तर, योजना अनुरूप काम अघि नबढेपछि मन्दिर पुनर्निर्माण कार्य म्याद सकिएपछि सुरु गरिएको छ । यसको लागत ४ करोडभन्दा बढी रहेको छ ।

१९०३ मा भएको दरबारहत्या काण्ड अर्थात् कोतपर्व पश्चात् जंगबहादुर कुँवरले आफैलाई प्रधानमन्त्री बनाएर राणा पद धारणा गरेका थिए । त्यसपश्चात् राणा परिवारमा प्रधानमन्त्रीको पद वंश परम्परागत बन्यो भने पछि गएर उनका सन्तानले जबरा राख्ने प्रचलन बन्दै गयो ।  १८७४ सालमा गोरखाको बोर्लाङमा जन्मेका जबराको मृत्यु १९३३ फागुन द्धादशीको दिन रौतहटको पथ्थकट्टामा भएको थियो । उनको निधन भएको १ सय ४२ वर्ष बितिसकेको छ । मुलुकले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र लगायत विभिन्न चरणमा प्रवेश ग¥यो । यद्यपि, गुठी संस्थान तथा श्री ३ जंग संस्थानले १०४ वर्षीय जहानियाँ राणाशासन लागू गरेका जवराको नियमित रूपमा श्राद्ध आयोजना गर्दै आएका छन् ।

प्रतिक्रिया