मस्जिद आक्रमणका मुख्य आरोपी अदालतमा पेस

एजेन्सी, न्युजिल्यान्ड । क्राइस्टचर्च सहरमा शुक्रबार ४९ जनाको हत्या भएको मस्जिद आक्रमणका मुख्य आरोपीलाई शनिबार अदालतमा उपस्थित गराइएको छ । अस्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्ट प्रहरीले बन्दीले लगाउने लुगा र हतकडीमा एउटा हत्याको अभियोगमा अदालत ल्याएको हो । उनीमाथि अरू अभियोजनहरू थपिने अपेक्षा गरिएको छ ।
न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले टारेन्टसँग पाँचवटा बन्दुकका लागि अनुमतिपत्र भएको बताउँदै भनिन्, ‘बन्दुकसम्बन्धी हाम्रो कानुन अब परिवर्तन हुन्छ ।’ प्रहरीले अरू दुई जनालाई पनि हिरासतमा राखेको छ । हिरासतमा भएको कसैको पनि आपराधिक इतिहास छैन ।

अदालतले टारेन्टलाई अप्रिल पाँच सम्मका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । शनिबारको पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डर्नले टारेन्टले प्रयोग गरेको गाडीमा थुप्रै हतियार भेटिएको र उसले आक्रमणलाई निरन्तरता दिने योजना बनाएको देखिएको बताएकी छन् ।

आर्डर्नले अल नुर मस्जिदबाट शव हटाउने कार्य जारी रहेको र सकेसम्म छिटो परिवारलाई हस्तातरण गर्न महत्वपूर्ण रहेको बताइन् । उनले परिवारका लागि आर्थिक सहयोगको पनि आवश्यकता पर्न सक्ने बताइन । आक्रमणमा मारिनेहरूमा परिवारले नाम सार्वजनिक गरेको पहिलो व्यक्ति ७१ वर्षीय दाउद नाबी रहेका छन् जो सन् १९८० को दशकमा अफगानिस्तानबाट न्युजिल्यान्ड सरेका थिए । मारिने अन्यको नाम सार्वजनिक गरिएको छैन । आक्रमणमा ४८ जना घाइते भएका छन् । तीमध्ये दुई वर्षीय र १३ वर्षीय बालक पनि रहेका छन् ।

घाइतेमध्ये क्राइस्टचर्च अस्पतालमा उपचार भइरहेका ११ जनाको अवस्था गम्भीर रहेको अस्पतालका शल्यक्रिया प्रमुख ग्रेग रोबर्टसनले जनाए । बंगलादेश, भारत र इन्डोनेसियाले आक्रमणमा आफ्ना केही नागरिकहरू मारिएको र केहीको अवस्था अज्ञात रहेको बताएका छन् । आक्रमणपछि क्राइस्टचर्चमा सुरक्षा व्यवस्था कडा बनाइएको र न्युजिल्यान्डका सबै मस्जिद बन्द राखिएका छन् । अल नुर मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थनाको समयमा दिउँसो १ बजेर ४० मा आक्रमण भएको खबर आएको थियो ।

एकजना बन्दुकधारीले मूलढोकामा गाडी रोकेर भित्र छिर्दै प्रार्थना गरिरहेकाहरूमाथि पाँच मिनेट आन्धाधुन्ध बन्दुक चलाएका थिए । टाउकोमा बाँधिएको क्यामेराबाट फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको आक्रमणमा बन्दुकधारीले आफूलाई ब्रेन्टन टारेन्ट भनेर चिनाएका थिए ।

बन्दुकधारी त्यसपछि पाँच किलोमिटर पर रहेको लिनउड मस्जिदसम्म गाडीमा गएर अर्को आक्रमण गरेका थिए । त्यहाँ एकजनाले बन्दुकधारीको हतियार खोस्न सफल भएका थिए । प्रहरीले टोरेन्टलाई कहाँ गिरफ्तार गरेको भनेर खुलाएको छैन । प्रहरीले दुवै मस्जिदमा हतियार भेटिएको र एउटा गाडीमा विस्फोटक पदार्थहरू भेटिएको बताएको छ । न्युजिल्यान्डको कुल ४२ लाख ५० हजार जनसंख्याको १ दशमलव १ प्रतिशत मुस्लिम छन् ।

आक्रमणको मुख्य आरोपीले न्युजिल्यान्डमा बीच–बीचमा केही समय बिताउँदै संसारभरी यात्रा गरेको प्रधानमन्त्री आर्डर्नले बताइन् । ‘म उसलाई लामो समयदेखि न्युजिल्यान्डमा बसेको भन्दिनँ,’ उनले नाम नखुलाई भनिन् । ‘आरोपीसँग सन् २०१७ मा लिएको हतियारको अनुमतिपत्र थियो,’ आर्डर्नले बताइन् । उनले न्युजिल्यान्डको जासुसी संस्थाले चरम दक्षिणपन्थीहरूमाथि गहन अनुसन्धान गरिने बताउँदै मुख्य आरोपीको बारेमा भने यसअघि कुनै जानकारी नरहेको बताइन् ।

शुक्रबारको आक्रमणअघि ब्रेन्टन टोरेन्टको नाममा रहेका सामाजिक सञ्जालहरूमा लामा र जातिवादी कुराहरू लेखिएका र आक्रमण भएका मस्जिदहरूको नाम भेटिएको छ । सामाजिक सञ्जालमा सन् २०१७ को युरोप भ्रमणपछि आक्रमणको योजना बनाएको लेखिएको छ ।

आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेको भिडियो हटाउन सामाजिक सञ्जालहरूलाई हम्मेहम्मे परेको थियो । त्यो भिडियो धेरैपटक धेरैजनाले पुनः उत्पादन गरेको र धेरै सेयर गरेको कारण त्यसलाई पूर्णरूपमा हटाउन असम्भव झैँ भएको छ ।
सामाजिक सञ्जालबाटै त्यो भिडियोको फोटो वा अंशले संसारभरीका केही अनलाइन मिडियामा स्थान पाएको थियो । न्युजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा बन्दुकधारीले डरलाग्दो आक्रमण गर्दा बंगलादेशी क्रिकेट टोलीका सदस्यहरू नजिकै पुगेका थिए ।

न्युजिल्यान्ड भ्रमणमा रहेको टेस्ट क्रिकेटको टोलीका १७ खेलाडी शुक्रबार हुने साप्ताहिक प्रार्थना गर्न बस चढेर अल नुर मस्जिद जाँदै थिए । तर, आक्रमण भएको सूचना पाएपछि उनीहरू भित्र छिरेनन् र जोगिए । बंगलादेशी क्रिकेट बोर्डले टोलीका सबैजना सुरक्षित रूपमा होटल फर्किएको र आफ्नो सम्पर्कमा रहेको जनाएको छ ।

ढाकाबाट बिबिसी संवाददाता अकबर हुसेन भन्छन् ‘नजिकै अभ्यास गरेर टोली मस्जिदमा जाँदै गर्दा उनीहरूलाई घटनाबारे चेतावनी दिइयो र उनीहरू नजिकैको बगैँचातिर भागे । बंगलादेशी टोलीका प्रबन्धक खालिद मसुदका अनुसार मस्जिदमा आक्रमण हुँदा टोली डेढ सय फिट पर थियो । तीन वा चार मिनेट पहिला मस्जिद पुगेको भए आफूहरू पनि सो आक्रमणमा पर्ने र भाग्यले जोगिएको उनी बताउँछन् ।

प्रतिक्रिया