भाग्यले जोगिए बंगलादेशी क्रिकेटर

एजेन्सी, न्युजिल्यान्ड । क्राइस्टचर्चस्थित मस्जिदमा बन्दुकधारीले डरलाग्दो आक्रमण गर्दा बंगलादेशी क्रिकेट टोलीका सदस्यहरू नजिकै पुगेका थिए । न्युजिल्यान्ड भ्रमणमा रहेको टेस्ट क्रिकेटको टोलीका १७ खेलाडी शुक्रबार हुने साप्ताहिक प्रार्थना गर्न बस चढेर अलनुर मस्जिद जाँदै थिए । तर, आक्रमण भएको सूचना पाएपछि उनीहरू भित्र छिरेनन् र जोगिए ।

बंगलादेशी क्रिकेट बोर्डले टोलीका सबैजना सुरक्षित रूपमा होटल फर्किएको र आफ्नो सम्पर्कमा रहेको जनाएको छ । ढाकाबाट बिबिसी संवाददाता अकबर हुसेन भन्छन् – नजिकै अभ्यास गरेर टोली मस्जिदमा जाँदै गर्दा उनीहरूलाई घटनाबारे चेतावनी दिइयो र उनीहरू नजिकैको बगैँचातिर भागे ।

न्यूजिल्यान्डकी प्रधानमन्त्रीले ‘आतङ्ककारी घटना’ भनेको सो आक्रमणमा परेर कम्तीमा ४९ जनाको ज्यान गइसकेको छ भने २० जनाभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन् । तीमध्ये कम्तीमा तीन जना बंग्लादेशी मूलका भएका विवरणहरू प्राप्त भएका छन् ।

आक्रमणकारीहरूले तारो बनाएका अल नूर मस्जिदमा ४१ जना र लिनउड मस्जिदमा आठ जनाको मृत्यु भएको थियो । बंगलादेशी टोलीका प्रबन्धक खालिद मशुदका अनुसार मस्जिदमा आक्रमण हुँदा टोली डेढ सय फिट पर थियो । तीन वा चार मिनेट पहिला मस्जिद पुगेको भए आफूहरू पनि सो आक्रमणमा पर्ने र भाग्यले जोगिएको उनी बताउँछन् । ‘हामीले आतंकको त्यस्तो क्षण कहिल्यै देखेका थिएनौँ ।’

सबै घटना आफूलाई चलचित्रको जस्तो लागेको बताउँदै उनी भन्छन्, ‘कहीँ पनि त्यस्तो आक्रमण होला भन्ने हामीलई लागेको थिएन् हाम्रा १७ खेलाडी त्यहाँ थिए, दुई जना होटलमै बसेका थिए ।’
टोलीका सदस्य मुश्फिकर रहिमले सो घटनामा अल्लाहले आफूहरूलाई जोगाएका र आफूहरू एकदमै भाग्यमानी भएको ट्विटरमा लेखेका छन् । टोलीका केही सदस्यहरू पत्रकार सम्मेलनमा गएकाले सबै जना सँगैसँगै मस्जिद जान ढिलो भएको बताइएको छ । अन्यथा उनीहरू त्यतिबेला मस्जिदभित्र हुने थिए ।

टोलीसँगै ईएसपीएनका बंगलादेश संवाददाता मोहम्मद इसाम पनि थिए । उनी भन्छन्, ‘हामी उद्यान हुँदै भाग्यौँ र चौरमा सुरक्षित रूपमा फक्र्यौँ । उनका अनुसार उनीहरूले त्यहाँ एक घण्टा बिताए । ‘खेलाडीहरूले गोली चलेको सुने, उनीहरूले मानिसहरू ढोकाबाहिर लडेको र बसमुनि लुकेको देखे । ‘बंगलादेशी र न्यूजिल्यान्डका टोलीहरूबीच शनिवारदेखि खेल हुने योजना थियो । तर घटनापछि त्यो स्थगित भएको छ ।

यसअघि बंग्लादेशी टोलीका सदस्यहरूले पनि आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका थिए । मुश्फिकर रहिमले पनि सो घटनामा अल्लाहले आफूहरूलाई जोगाएको र आफूहरू एकदमै भाग्यमानी भएको ट्विटरमा लेखेका छन् । सो घटनाप्रति सामाजिक सञ्जालमा धेरैले दुःख व्यक्त गरेका छन ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले घटनामा जोगिएका बंगलादेशी टोलीप्रति सहानुभूति प्रकट गरेका छन् । पाकिस्तानका पूर्वखेलाडी शाहिद अफ्रिदीले क्राइस्टचर्चमा भएको घटनाप्रति दुःख प्रकट गर्दै बंगलादेशी टोली सुरक्षित रहेको थाहा पाउँदा आफूलाई राहत अनुभूति भएको जनाएका छन् ।

प्रतिक्रिया