बाँदर समाउन नयाँ प्रविधि

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनौँको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको छ ।

सरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकोमा अब स्थानीय व्यक्तिलाई नै परिचालन गरी स्थानीय प्रविधिबाट बाँदर नियन्त्रण गर्न थालिएको गाएँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार यो प्रविधि थोरै जनशक्तिबाट पनि बाँदर नियन्त्रणमा लिन सकिने खालको छ । बिहीबार मात्रै २१ बाँदर नियन्त्रणमा लिइएको अध्यक्ष पौडेलले जानकारी दिए । यसअघि झण्डै साढे तीन सय बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएकोमा फेरि नियन्त्रण गर्न थालिएको हो ।

बिहीबार पहिलोपटक सुरुवात गरिएको स्थानीय प्रविधि सफल भएको बाँदर नियन्त्रण तथा स्थानान्तरण समितिका अध्यक्ष सरस्वती अधिकारीले जानकारी दिइन् । स्थानीय व्यक्तिबाटै बाँदर नियन्त्रण गर्न सकिने भएपछि अब जतिबेला बाँदरको सङ्ख्या बढ्छ त्यतिबेला नियन्त्रण गरिहाल्न सकिने अधिकारीले बताइन् ।

बाँदरले बालीनाली सखाप पारेको गुनासो भएपछि गाउँपालिकाले अभियान नै चलाएर बाँदर समाउन थालेको हो । चालू आर्थिक वर्षको कात्तिक महीनासम्म नियन्त्रणमा लिइएका ३३० बाँदर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएको र फेरि समाएर खोरमा जम्मा गर्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

गाउँपालिकाले बाँदर नियन्त्रणका लागि चालू आर्थिक वर्ष २०७५, ७६ मा रु रु १५ लाख विनियोजन गरेको थियो । गाउँपालिकाको उक्त अभियानले स्थानीय कृषकलाई ठूलो राहत मिलेको छ । पालिकाअन्तर्गत भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकामा अहिले धेरै कम भएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया