शर्मिलाले ल्याइन् छुवाछुतविरोधी गीत

काभ्रे ।
मन्दिर छिर्न पाइन्न रे सानो जात,
कुन पापीले गरायो यस्तो घात
भगवान तिमीले भनेनौ तैंले पूजा नगर मलाई,
भाग्य लेख्ने भावीको छैन दोष तर समाजले खराब पा¥यो मलाई

एक्काइसौं शताब्दीको आधुनिक युगमा पनि मानवले मानवलाई छिछी र दुरदुर गर्दै भेदभाव गर्ने चलन अझै कतिपय स्थानमा यथावत् नै रहेको पाइन्छ । सानो जात वा ठूलो जातको नाममा गरिने भेद्भावले नेपाली समाजलाई गाँजेको छ ।

यसैका कारणले नेपालका विभिन्न स्थानमा थुप्रै अप्रिय घटना घटेका समाचार आइरहन्छन् । मानव जातिकै लैंगिक कलंकको रूपमा रहेको यी र यस्तै परिवेशलाई उधिनेर कलाकारले सामाजिक सचेतना जगाउने गीत सार्वजनिक गरेका छन् । जातीय छुवाछुत र तिनका विकृत पक्षले समाजमा पारेको प्रभावमा आधारित रही लोकदोहोरी गायिका शर्मिला श्रेष्ठले गीत ल्याएकी छन् । ‘पूजा नगर मलाई’ बोलको गीतमा उनलाई गायक राजेशकुमार नेपालीले साथ दिएका छन् ।

जातीय भेदभाव र छुवाछुतविरुद्ध जागरण ल्याउने उक्त गीतको राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । गायिका तथा राष्ट्रिय सभाका सांसद कोमल वली, संगीतकार सुरेश अधिकारी, संगीतकार महेश खड्काले उक्त गीतको संयुक्त रूपमा विमोचन गरे । कार्यक्रममा गायिका तथा सांसद वलीले सार्वजनिक गीत ‘पूजा नगर मलाई’ साँच्चै नै मर्मस्पर्शी रहेको बताइन् ।

उनले भनिन्, ‘समाजमा व्याप्त छुवाछुतविरुद्ध सचेतना जगाउन यो गीतले निकै मद्दत पु¥याउन आस गर्न सकिन्छ ।’ कलाकारले आफ्नो सिर्जनामार्फत समाजमा जागरण ल्याउने काम गरिरहेको र आगामी दिनमा पनि अझ प्रभावकारी रुपले काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

त्यस्तै, संगीतकारद्वय अधिकारी र खड्काले यस्ता किसिमका सामाजिक विकृतिविरुद्ध सचेतना जगाउने किसिमका गीतले समाज परिवर्तनमा उल्लेखनीय भूमिका खेल्ने धारणा राखे । उनले भने, ‘गीतसंगीतले समाजमा मानिसलाई सचेत गराउने महत्वपूर्ण भूमिका खेल्छ । सार्वजनिक यस गीतले पनि समाजमा रहेको विभेद हटाउन निकै सघाउ पु¥याउने विश्वास गर्न सकिन्छ ।’

उक्त जनचेतनामूलक लोकदोहरी गीत शर्मिलाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा पासाङकुमार लामा ब्लु स्काइको शब्द, गायक राजेशकुमारको संगीत तथा विनोद बाजुरालीको संगीत एरेन्ज रहेको छ । विशुद्ध मनोरञ्जन दिने उद्देश्यले निर्माण गरिएको उक्त गीतको भिडियोमा समाजमा व्याप्त कुरीति कुसंस्कारलाई प्रस्तुत गरिएको छ । आफूलाई उपल्लो जात भन्नेलाई तल्लो जाति भनेर हेप्ने समुदायलाई हेयको भावले गरिने व्यवहारलाई गीतमा यसरी उजागर गरिएको छ,
कुकुर मानव मानव चाहिँ कुकुर भो
शिकारीले छेकेको ढुकर भो’

लोक बस्ती, ग्रामीण भेगको रहन सहनलाई लोकभाकामा प्रस्तुत गरिएको गीत रामेछापको रमणीय स्थलमा छायांकन गरिएको छ । गीतको भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन् भने रमणीय सुन्दर दृश्यलाई मरुभूमि नारायणले खिचेका छन् । रोशन धितालको सम्पादन रहेको भिडियोमा रश्मी भट्ट, कृष्ण स्वर्णकार, लक्ष्मणविक्रम बस्नेतको अभिनय छ ।

जातीय छुवाछूत अन्त्यका लागि जागरण ल्याउने लक्ष्य राखेर इन हाउस क्रिएसन र लिखु तामाकोशी गाउँपालिका रामेछापको प्रस्तुति यो गीत निर्माण गरिएको हो । गीतको भिडियोले नेपाली समाजको वास्तविकतालाई केलाउँदै विकृति विसंगतिलाई उजागर गर्न खोजेको छ । जातीय छुवाछुतबाट पिल्सिएका मानिसलाई मल्हम लगाउने गरी गीत बनाइएको गायिका शर्मिलाले बताइन् ।

प्रतिक्रिया