सामान्य सेवा लिन दिनहुँ धाउनुपर्ने बाध्यता

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पशुसेवा केन्द्रमा औषधि तथा उपकरण अभावका कारण सामान्य सेवा लिन सेवाग्राहीलाई समस्या हुँदै आएको छ ।

सरकारले पशुसेवा कार्यालयमार्फत कृषकका लागि विभिन्न सेवा सुविधा उपलब्ध गराए पनि सुखडस्थित सेवा केन्द्रबाट आफूहरुले सेवा सुविधा नपाएकोे घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरबाट आएका आमखुरा विश्वकर्माले बताए ।

आफूले एउटा बोका बन्ध्याकरण गराउनका लागि करीब तीन किलोमिटर बाटो दैनिक हिँडेर तीन दिनसम्म पशुसेवा कार्यालय धाउँदासमेत सेवा नपाएको गुनासो गर्दै उनले कहिले प्राविधिकको अभाव त कहिले कार्यालयमा औषधि तथा उपकरण नभएको भन्दै पशुसेवा कार्यालयले आफूलाई फर्काएको बताए ।

आफूले पालेको भैँसीलाई कृत्रिम गर्भधान गराउन उक्त कार्यालय धाउँदा सेवा नपाएको घोडाघोडी नगरपालिका–२ साडेपानीका कृषक जयबहादुर विष्टले बताए । यहाँ औषधि र उपकरण केही छैन तपाईं नगरपालिका अन्तर्गत रहेको पशुसेवा कार्यालयमा जानुस् भनेर पठाउने गरेको र नगरपालिकामा रहेको पशु शाखामा पुग्दा पशुसेवा केन्द्रमा जानुस् भनेर दुःख मात्र दिने गरेको गुनासो विष्टले गरे ।

पशुसेवा केन्द्रमा कर्मचारी अभावले गर्दा किसानले निकै समस्यामा भोग्नुुपरेको घोडाघोडी नगरपालिका पशु स्वास्थ्य प्रमुख छत्रा न्युरेले बताए । पहिले आफूहरुले महीनामा ३५ देखि ४० सम्म पशुको कृत्रिम गर्भधान गर्ने गरेकामा अहिले मुस्किलले १० देखि १५ वटा पशुको कृत्रिम गर्भधान गर्ने गरेको उनको भनाइ छ ।

नौ कर्मचारीको दरबन्दी रहेको उक्त कार्यालय र नगरपालिकाअन्तर्गतको पशु स्वास्थ्य शाखा दुवै कार्यालय हेर्ने एक मात्र कर्मचारी रहेकाले किसानलाई सेवा प्रदान गर्न समस्या हुने गरेको छ ।

प्रतिक्रिया