इको इन्टरनेसनलमा मुना

काठमाडौं । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०१९’ मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्दैछिन् । ६० देशका इको सुन्दरीको सहभागिता रहेको उक्त प्रतियोगितामा उनी नेपालबाट यो सिजनका लागि एक्ली प्रतिनिधि हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रिन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनलाई ‘मिस इको इन्टरनेसनल नेपाल २०१९’ को उपाधि पहि¥याउँदै प्रतिनिधि चयन गरेको थियो ।

उक्त प्रतियोगितामा मुना नेपालको पाँचौ सहभागी हुन् । यसअघि प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य र मौनता लामाले भाग लिइसकेका छन् । मुना प्रतिस्पर्धामा करिब दुई दर्जन आकर्षक पहिरनसहित सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले जानकारी दिए ।

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मिस इको राम्रो प्लेटफर्म भएको मुनाले बताइन् । उनले भनिन्, ‘नेपाली ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको पहिचानसहितको डकुमेन्ट्री लिएर म प्रतियोगितामा सहभागी हुन लागेकी छु ।’

प्रतियोगितामा उत्कृष्टता हासिल गर्दै शीर्ष उपाधि नेपाल भित्र्याउने विश्वासका साथ मुनालाई आफूले इजिप्ट पठाएको ग्रिन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले बताइन् । उनले भनिन्, ‘मुनालाई ग्रिन आर्टले आवश्यक विभिन्न प्रशिक्षणसहित नेपालको प्रतिनिधित्व गराउँदै इजिप्ट पठाएका हौँ ।’

प्रतिक्रिया