युभेन्ट्स क्वार्टर फाइनलमा

एजेन्सी, मड्रिड । युभेन्ट्सले मंगलबार स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडलाई ३–० ले निराश पार्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ ।  घरेलु मैदानमा भएको दोस्रो लेगमा युभेन्ट्सले हात पारेको जितसँगै टोली समग्रमा एट्लेटिकोमाथि समग्रमा ३–२ को सनसनीपूर्ण नतिजाका साथ अघिल्लो चरण प्रवेश गरेको हो । यसअघि एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले २–० को नतिजा सुम्पिएको थियो ।

‘यो हाम्रा लागि विशेष रात हो र यो मेरा लागि मात्र नभई समग्र टोलीकै लागि हो,’ रोनाल्डोले भने, ‘टोलीमा जितको मानसिकता देखियो । युभेन्ट्सले यसै कारण मलाई टोलीमा भित्र्याएको थियो । उनीहरू मबाट यस्तै जादुमयी खेलको अपेक्षा गर्छन् र म त्यहीअनुसारको प्रदर्शन गर्न पाउँदा उत्साही छु ।’

डिएगो सिमोनीको टोली पहिलो लेगमा सशक्त देखिए पनि दोस्रो लेगमा पूर्ण रूपमा निरीह बन्दा जुन १ मा घरेलु मैदान वान्डा मेट्रोपोलिटियानोमा हुने फाइनल खेल्ने टोलीको लक्ष्य अन्तिम १६ मै पूर्णविराम लागेको हो ।

‘खेलाडीले उच्च मनोबलका साथ स्वाभाविक लयलाई निरन्तरता दिए,’ युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, ‘एट्लेटिकोले पनि बलियो चुनौती पेस ग¥यो । हामीसँग अघिल्लो चरण प्रवेशका लागि केही मिनेट मात्र बाँकी थियो ।जुन समयमा रोनाल्डोको पेनाल्टी गोल टोलीका लागि बरदान साबित भयो ।’

रोनाल्डोले च्याम्पियन्स लिगमा ह्याट्रिक पूरा गरेको यो आठौं पटक हो । यसअघि २०१६ अप्रिलमा पनि उनले रियाल मड्रिड पहिलो लेगमा उल्फसबर्गसँग २–० ले पछि परे पनि दोस्रो लेगमा ह्याट्रिक पूरा गर्दै रियाललाई अघिल्लो चरण प्रवेश गराएका थिए ।

जारी सिजन रोनाल्डोले क्वार्टरफाइनलको यात्रा पक्का गर्दासम्म मात्र ४ गोल गरेका छन् । तर यस ह्याट्रिकसँगै रोनाल्डोले च्याम्पियन्स लिग इतिहासमा भने आफ्नो गोलसंख्या १ सय २४ पु¥याइसकेका छन् । रोनाल्डोले रियाल मड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो टोली बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

युभेन्ट्सले १९९६ पछि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यका साथ यसै सिजन ३४ वर्षे रोनाल्डोलाई मड्रिडबाट भित्र्याएको थियो । युभेन्ट्सले पछिल्लो ४ सिजन च्याम्पियन्स लिगको उपविजेतामा चित्त बुझाएको छ ।

खेलको चौथो मिनेटमा कप्तान जर्जियो किलेनीले बललाई जाली चुमाउँदै युभेन्ट्सलाई खेलमा अघि बढाएका थिए । तर भिडियो सहायक रेफ्री भिएआर प्रविधि (भिएआर)ले उक्त गोललाई मान्यता नदिएपछि युभेन्ट्स निराश बनेको थियो । भिएआरमा बलले पोस्टको दिशा लिनुअघि रोनाल्डोले एट्लेटिकोका गोलकिपर जान ओबलाकमाथि फाउल गरेको देखिएको थियो ।

२७औं मिनेटमा फेड्रिको बर्नडेस्चीको फ्रि–किकमा रोनाल्डोले हेड गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो खेल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारेका थिए यस गोलसँगै युभेन्ट्सले खेल समग्रमा २–२ को बराबरीमा ल्याएको थियो । रोनाल्डोले गरेको हेड गोल ओबलाकले जोगाए पनि गोललाइन प्रविधिमा ओबलाकले लाइन पार परेको देखिएको थियो । खेल सकिन ४ मिनेट बाँकी हुँदा रोनाल्डोले पेनाल्टी गोलमा ह्याट्रिक पूरा गरेसँगै युभेन्ट्सले अघिल्लो चरणको टिकट पक्का गरेको थियो ।

यता म्यानचेस्टर सिटीले साल्केमाथि ७–० को रबाफिलो जितका साथ अन्तिम ८ मा प्रवेश गरेको छ । पहिलो लेगमा ३–२ को जित हात पारेको सिटी यस जितपछि समग्रमा १०–२ को जितका साथ क्वार्टरफाइनल प्रवेश गरेको हो । घरेलु मैदान इत्तिहाद रंगशालामा भएको खेलको पहिलो हाफमा ३ गोल गरेको सिटीले दोस्रो हाफमा थप ४ गोल गरेको थियो ।

प्रतिक्रिया