माईभ्याली गोल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा

राम योङहाङ, इलाम । डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लब ललितपुरलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब काठमाडौं इलाममा जारी पाँचौं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  पहिलो पटक सहभागिता जनाएको हिमालयन शेर्पा क्लबले बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लब ललितपुरलाई ३–१ गोलले अन्तरले पराजित गर्यो । जितसँगै हिमालयन शेर्पाले यसअघिको हारको बदला समेत लिएको छ । जारी सिजनमा हिमालय शेर्पा बारामा सम्पन्न दशौं सिमरा गोल्डकपको सेमीफाइनलमा थ्रीस्टारसँग पराजित भएको थियो ।

थ्रीस्टारले सुरुवाती अग्रता लिएपनि त्यो अग्रता लामो समय टिकेन । खेलको १४ औं मिनेटमा नै थ्रीस्टारका कप्तान अनिल गुरुङले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता पाँच मिनेट पनि टिकेन । १९ औं मिनेटमा हिमालय शेर्पाका विजय श्रेष्ठले गोल गरी खेल बराबरीमा ल्याए ।

पहिलो हाफमा १–१ को बराबरीमा खेलेको थ्रीस्टारले दोश्रो हाफमा भने विपक्षीलाई दवावमा राख्न सफल बन्यो । चामत्कारिक खेल प्रदर्शन गरेको हिमालयन शेर्पाले ६८ औं मिनेटमा दोश्रो गोल गर्यो । कर्नरको अवसरलाई सदुपयोग गर्दै हिमालयन शेर्पाका त्रिभुवन गुरुङले हेडमार्फत गोल गरी टिमलाई जित नजिक पुर्याए । ७५ औं मिनेटमा पुनः हिमालयन शेर्पाका सुनिल खड्काले गोल गर्दै टिमलाई ३–१ को जित निश्चित दिलाए । पेनाल्टी क्षेत्रबाट सीधै जाली चुमाएका थिए ।

जितसँगै हिमालयनले अब बिहीबार हुने तेश्रो क्वार्टरफाइनमा सशस्त्र प्रहरीको एपिएफ क्लब र विदेशी टिम दाउफिन्स क्लब क्यामरुनको विजेतासँगको भेट पक्का गरेको छ ।
थ्रीस्टार माईभ्याली गोल्डकपको चौथो संस्करणको विजेता टिम हो भने पहिलो संस्करणको उपविजेता हो । चौथो संस्करणमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि चुमेको थियो भने पहिलो संस्करणमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।
खेलको म्यान अफ दी म्याच विजेता हिमालय शेर्पा क्लबका विदेशी खेलाडी रामसेई घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता छ  । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । २०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

प्रतिक्रिया