अभिनन्दनको फोटो पोस्टरबाट हटाउन आदेश

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले वायू सेनाका विङ कमान्डर अभिनन्दन वर्तमानको फोटो आफ्नो पोस्टरमा प्रयोग नगर्न भारतीय जनता पार्टीलाई चेतावनी दिएको छ । केही दिनअघि पाकिस्तानले नियन्त्रणमा लिएर छोडेका अभिनन्दनलाई ‘पराक्रमी’ भन्दै भाजपाले आफ्नो चुनावी पोष्टरमा प्रयोग गरेको थियो ।

दिल्लीमा भाजपाका विधायक ओमप्रकाश शर्माले फेसबुकमा पनि अभिनन्दनको फोटो हालेका थिए । यसलाई निर्वाचन आयोगले आपत्तिनजक मानेको छ । साथै आयोगले फेसबुकलाई पनि सुचित गरेको छ ।

यसअघि आयोगले राजनीतिक दलहरुलाई उनीहरुको ब्यानर, पोस्टरमा भारतीय सेना, सेनाका जवान र शहीद परिवारको तस्वीर प्रयोग नगर्न सचेत गराएको थियो । तर, भाजपाले भने राष्ट्रवादी उभार ल्याएर जनमत जित्ने अभिप्रायले अभिनन्दनको तस्वीर चुनावी र्यालीदेखि सामाजिक सञ्जालसम्म प्रयोग गर्दै आएको छ । यसमा विपक्षी पार्टी कांग्रेसका आईका नेताहरुले आपत्ति जनाएका छन् । उनीहरुले यस विषयमा निर्वाचन आयोगलाई उजुरी पनि गरेका थिए । पाकिस्तानसँगको संघर्षलाई भाजपा सरकारले चुनावी मसला बनाउन खोजिरहेको उनीहरुको आरोप छ ।

आयोगले फेसबुक मात्रै नभएर ट्विटरलाई पनि यस्ता चुनावी सामग्रीहरु हटाउन अनुरोध गरेको छ । भाजपाले यसमा कुनै प्रतिक्रिया दिएको छैन । गत १० मार्चमा निर्वाचन आयोगले आम चुनाव २०१९ को मिति घोषणा गरेको थियो । लगत्तै चुनावी आचारसंहिता लागू भइसकेको छ ।

प्रतिक्रिया