प्रधानमन्त्री ‘मे’ दोस्रो ठूलो हार

लन्डन । बेलायती संसदले युरोपेली संघ(ईयू)बाट बेलायत बाहिरिने (ब्रजिक्ट)सम्बन्धी प्रधानमन्त्री टरेसा मे को योजना दोस्रो पटक पनि अस्वीकृत गरेको छ ।

यस अघि गएको जनवरीमा भएको मतदानमा आफ्नै पार्टीका सांसदले पनि प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका थिए । थप छलफल र विगतको मस्यौदामा संशोधनसमेत गरेर प्रधानमन्त्री मे संसदमा मतदानको लागि गएकोमा फेरि पनि सो योजना अस्वीकृत भएको हो । ईयूबाट बाहिरिने मिति आउन अब १७ दिन मात्रै रहेपनि बेलायती प्रधानमन्त्रीको सो सम्बन्धी योजना अस्वीकृत भएको हो ।

मंगलबार (नेपाली समय अनुसार गएराति) भएको यस सम्बन्धी मतदानमा उनको पक्षमा २४२ र विपक्षमा ३९१ मत परेको थियो । बेलायती प्रधानमन्त्री मे गएको सोमबार अबेरसम्म यो मामिलालाई लिएर युरोपेली नेताहरुसँग वार्तामा व्यस्त थिइन् । उनले बेलायती सांसदहरुलाई अपिल गर्दै भनेकी थिइन्,“ब्रेक्जिटको संशोधित मस्यौदालाई समर्थन गर्नुस् त्यसो नगर्ने हो भने ब्रेक्जिटलाई नै अस्वीकार गर्नुस् ।’
अब के हुन्छ ?

ब्रेक्जिट संझौता खारेज भएपछि बेलायतकी प्रधानमन्त्री मेले बेलायती संसदले अब यही मार्च २९मा बेलायत बिना कुनै संझौता ईयूबाट बाहिर जाने कि नजाने भनेर मत दिनुपर्ने बताएकी थिइन् । संभवतः आज बुधबार यसबारेमा मतदान हुने जनाइएको छ । संसदले संझौता गरेर बाहिरिने भनेमा २९ मे को समयसीमालाई केही पर सार्न सकिनेछ ।

त्यसैगरी कतिपय सांसदले दोस्रो जनमत संग्रह गर्नुपर्ने माग समेत गरिरहेका छन् । प्रधानमन्त्रीको दोस्रो पटकको असफलतापछि उनले राजीनामा दिने संभावनाको बारेमा भने प्रधानमन्त्रीको कार्यालय निकट स्रोतहरुले सो सम्भावना नभएको बताएका छन् । प्रधानमन्त्रीलाई सांसदको समर्थन नदेखिएकाले बेलायतमा संसदीय निर्वाचन हुनुपर्ने माग राख्नेपनि अहिले देखिएका छन् ।

प्रधानमन्त्रीले बेलायती संसदले ब्रेक्जिटबाट बाहिर बिना संझौता जान अनुमति दिन्छ भने पुनः संसदमा मतदान हुने जनाएकी छन् । प्रधानमन्त्रीलाई समर्थन गरिरहेका टोरी र डेमोक्रेटिक युनियनिस्ट सांसदले ब्रेक्जिटबारेमा मस्यौदामा समर्थन गर्न अस्वीकार गरेका थिए । उनीहरुको भनाई बेलायत सदाका लागि ईयूको हिस्सा नहोस् भन्ने चाहना थियो । यसका लागि बेलायती प्रधानमन्त्रीले जुन कानुनको आश्वासन दिइरहेकी थिइन् त्यो पूरा नभएको उनीहरुको भनाई थियो ।

गएको जनवरीमा भएको मतदानमा पनि प्रधानमन्त्री मे को कन्जरभेटिव पार्टीका ११८ सांसदले विपक्षीसँग मिलेर विपक्षमा मत हालेका थिए । तर, विपक्षका तीन जना सांसदले भने प्रधानमन्त्री मे को पक्षमा मतदान गरेका थिए ।

प्रधानमन्त्रीको योजना असफल भएपछि विपक्षी लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव गरेको थियो । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्रीको योजना असफल हुनु भनेको उनलाई संसदको विश्वास छैन भन्ने कुरा पुष्टि हुनु भएको बताएका थिए । उनले प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव राखेकोमा त्यसबारेमा भोलिपल्ट मतदान हुँदा भने सांसदहरुको बहुमतले प्रधानमन्त्रीकै पक्षमा मतदान गरेको थियो ।

बेलायत ईयूबाट बाहिरिने म्याद नजिकिदै आएको र ईयूसँग उसको संझौताले बैधानिकता पाउने अवस्था उत्पन्न नभएकोले अब के होला भन्ने प्रश्न उब्जिएको छ । खासगरी व्यापारिक कारोबार र आयरल्यान्डको मामिलामा के हुन्छ भन्ने प्रश्न उब्जिन पुगेको छ ।

प्रतिक्रिया