रुसी विवाहको परम्परा

रुसमा विवाहोत्सवको वेला विवाह दर्ता गराउन दुलहा र दुलही दुवै पक्षबाट कम्तीमा एक(एकजना साक्षी बस्नुपर्छ । साक्षीलाई ‘स्वीदेतेल’ भनिन्छ भने विवाह दर्ता गर्ने कार्यालयलाई छोटकरीमा जाग्स अधिकाँश मानिसहरूले शुक्रबार वा शनिबार मात्रै विवाह गर्ने भएकोले विवाह दर्ताका लागि जाग्समा पालो लिन केही महिना अगाडि नै नाम लेखाउनुपर्ने हुन्छ ।

विवाहोत्सवमा दुलहाले कालो सुट लगाएको हुन्छ भने दुलहीलेचाहिँ निक्खर सेतो विवाहपोसाक । अनि साक्षी बस्नेले चाहिँ टाउकोमा रातो फेटाजस्तो लगाउनुपर्दछ भने काँधमा जनै बाँधेजस्तो गरेर छड्के रातो पेटी लगाउँछन् । दुलहा(दुलही, साक्षीहरू र अन्य आफन्त तथा इष्टमित्रहरू विवाह दर्ता कार्यालय जाग्समा पुग्छन् । त्यहाँ एउटा सानोतिनो समारोह नै सम्पन्न हुन्छ । जाग्सका पदाधिकारी समक्ष उभिएर दुलहा दुलहीलाई खुसीराजीसँग विवाहबन्धनमा बाँधिने निर्णय लिइएको हो भन्ने एक किसिमको प्रतिज्ञाजस्तो गराइन्छ । त्यसमा भनिएको हुन्छः म फलानाको श्रीमती (अथवा श्रीमान) बन्न तयार छु र जीवनसाथी बनेर रहनेछु ।

यस्तो प्रतिज्ञापत्रमा र विवाहदर्ता रजिस्टरमा दुलहा र दुलहीले हस्ताक्षर गरेपछि साक्षीहरूले पनि हस्ताक्षर गर्छन् । दुलहाले दुलहीको दायाँ हातको एक औलामा सुनको बाटुलो औँठी लगाइदिन्छ र दुलहीले पनि दुलहाको औँलामा सुनको औँठा लगाइदिन्छे । त्यसपछि उनीहरूले एक अर्कालाई अनिवार्यरूपमा चुम्बन गर्नुपर्छ । अनि मात्र नवदम्पत्तिलाई दाम्पत्य जीवन सुखमय होस् भन्ने शुभकामना व्यक्त गर्दै जाग्सका अधिकारीले विवाह दर्ताको प्रमाणपत्र दिन्छन् । त्यसपछि सबैले नवदम्पत्तिलाई पुष्प गुच्छाहरू दिएर शुभकामना व्यक्त गर्दछन् ।

जाग्सबाट फर्कने वेला नवदम्पत्ति र साथमा रहेका आफन्त, साथिसंगीहरू रिबन र फूलले सिँगारिएका गाडीमा चढेर नगर परिक्रमा गर्छन् । मस्कोको क्रेमलीन पर्खालनेर रहेको अज्ञात सैनिकको स्मारकमा बलिरहेको अखण्ड ज्योतिनेर उनीहरू पुष्पगुच्छा अर्पण गर्दछन् । यसैगरी भिक्ट्री पार्कमा पुगेर विजेता ग्रिगोरीको स्मारकसमक्ष पनि पुष्पगुच्छा अर्पण गर्ने चलन छ । पहिले मस्कोको केन्द्रमा रहेको रेड स्क्वाएरस्थित लेनिन समाधिअगाडि पनि फूल चढाउने चलन थियो । नेता र कविहरूको शालिकमा पनि फूल चढाइन्छ ।

नवदम्पत्ति र विवाहोत्सवका सहभागीहरू मस्को राजकीय विश्वविद्यालय अगाडी रहेको गगनचुम्बी भवनअगाडीको भराविए गोरी (भँगेरे डाँडा) को डिलमा गई मस्को नगरको दृश्यावलोकन पनि गर्दछन् । यस्तो नगर परिक्रमापछि मात्र नवदम्पत्ति आफ्ना सहयात्रीहरूका साथ विवाहोत्सवको उपलक्ष्यमा साँझ आयोजना गरिने विवाहभोजमा सामेल हुन्छन् ।

रेस्टुराँ वा घरमै यस्तो विवाहभोज सम्पन्न हुन्छ, जसमा दुलहा र दुलही दुवैतर्फका पाहुनाहरू सहभागी हुन्छन । भोजको क्रममा सहभागी पाहुनाहरूले पालैसान्ति नवदम्पतिको सुखसमृद्धिको कामना गर्दै टोस्टप्रस्ताव राख्दछन् । हरेक टोस्ट प्रस्तावपछि पाहुनाहरूले खानपिन गर्न छोडी गोर्का (तीतो) भनेर नारा लगाउँछन् । दुलहा दुलहीले त्यतिवेला चुम्बन लिनै पर्ने हुन्छ । अनि मात्र पाहुनाहरूको मदिरापान र खानपिन सुरु हुन्छ । रुसको बसाईकालमा म पनि कैयौँपटक यस्ता विवाहोत्सवमा सरिक भएको छु । केही साथीहरूको विवाहमा दुलाहा पक्षबाट साक्षी बनेर मैले हस्ताक्षरसमेत गरेको थिएँ ।

सबैको दाम्पत्य जीवन सुखद रहोस्, सफल रहोस् ! ‘रुसको सम्झना’ (अप्रकाशित) का अंशहरू । जीवा लामिछानेको फेसबुकबाट

प्रतिक्रिया