खेलकूद विधेयक प्रस्ताव सर्वसम्मतले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रिय खेलकूद विकास विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।

बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री विकले स्वच्छ र अनुशासित खेलाडी उत्पादन गरी देशको गरिमालाई अन्तरराष्ट्रिय स्तरमा पु¥याउन राष्ट्र तथा खेलक्षेत्रको हितका लागि सो विधेयक ल्याइएको बताए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक २०७५ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लेखा परीक्षण विधेयक २०७५ सम्बन्धी समितिका प्रतिवेदन सभामा प्रस्तुत गरे ।

त्यसैगरी राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक २०७५ र भूउपयोग विधेयक २०७५ लाई टेबुल गरे । राष्ट्रियसभाको अर्को बैठक यही फागुन ३० गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया