को होला भारतमा अबको प्रधानमन्त्री ?

दिल्ली । भारतमा १७औँ लोकसभाको निर्वाचन नजिकिँदै गएको छ । भारतीय लोकसभाको सन् २०१९ को निर्वाचन सात चरणमा हुनेछ । पहिलो चरण ११ अप्रिलमा हुनेछ । यस सम्बन्धी मिति गएको आइतबार तय भएको हो । चुनाव आगामी अप्रिल र मे महिनामा हुँदै छ भन्ने पहिले नै तय थियो ।

तर, मिति तय भइसकेपछि भारतमा चुनावले छोपेको छ । प्रचारको शैली र ‘मुड’ बदलिएको छ । अब चुनावलाई केन्द्रमा राखेर आवश्यक तयारी हुने निश्चित छ । चुनावको बारेमा दुई–तीनवटा महत्वपूर्ण कुरा छन् । भारतीयहरूको चासो प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्र कुन हो र त्यहाँ कहिले चुनाव हुँदै छ ? अहिलेसम्मको चर्चाअनुसार मोदी फेरि पनि वाराणसीबाट नै चुनाव लड्ने सम्भावना छ । वाराणसीमा मोदीको व्यस्तता र पार्टीको चुनाव प्रचारका लागि उनको सक्रियताले गर्दा यो कुरा चर्चा भए पनि तय भइसकेको छैन ।
भाजपाको मुद्दा

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाह र प्रधानमन्त्री मोदीको हवाला दिँदै जुन कुरा बाहिर ल्याइरहेको छ त्यसको मूल निचोड हो, ‘एक बार फिर से मोदी सरकार ।’

यसले गर्दा मोदीलाई पार्टीभित्रैबाट चुनौती दिने र आलोचना गर्नेहरूलाई चिसो पानी खन्याउने काम भइसकेको छ । गएको जनवरीसम्मको अवस्था हेर्दा फरक थियो । त्यतिवेला देशको ‘मुड’ अरू केहीमा भएजस्तो देखिन्थ्यो । तर, फेब्रुअरीको पुलवामा घटनापछि अवस्था बदलिएको देखिएको छ । तर, चुनावको तिथिको समयसम्ममा तस्बिर अझै नबदलिएला भन्न सकिन्न ।

अझै पनि पहिलो चरणको चुनाव आउनका एक महिना बाँकी छ । भाजपासँग बालाकोट आक्रमणबाहेक अन्य मुद्दा पनि छन् । अन्य मुद्दामा विकास र जनधनको कुरा छ । अहिले प्रश्न उठिरहेको छ । भाजपाका लागि अरू मुद्दा के हुन सक्लान् ? अनि कुन मुद्दा प्रयोग गरेर कंग्रेस र अन्य विपक्षी पाटीले मोदीलाई चुनौती देलान् ?

पुलवामा पछिको अवस्था

सन् २०१४ को लोकसभा निर्वाचनका समयमा माहोल अलग थियो । त्यतिवेला जुन मुद्दा थिए ती विपक्षीले खडा गरेका थिए । त्यसभन्दा बढी ती विषयलाई मिडियाले उठाएका थिए । एउटा परिवर्तनको चाहना सबैमा देखिन्थ्यो । पुलवामामा आक्रमण हुनुभन्दा पहिला विपक्षीहरू सरकारलाई घेराउ गर्नमा एक हदसम्म सफल भएका थिए ।

तर, अब हरेक सांसदहरू आफ्नो सिटका लागि केन्द्रित हुनुपर्ने अवस्था देखिएको छ । अहिलेको अवस्थामा जनताको ध्यान आफ्नो क्षेत्रको सांसदले के गरे भनेर हिसाबकिताब गर्नेतिर गइरहेको छ । भारतको अहिलेको चुनाव यस अर्थमा पनि रोचक किन छ भने यति धेरै चरणमा यसभन्दा अघि चुनाव भएको थिएन ।

प्रियंकाको सहभागिता

विपक्षी कंग्रेस आइले अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंकालाई राजनीतिमा ल्याएर एक खालको माहोल सिर्जना गर्न खोजेकोमा पुलवामा घटनापछि त्यो अस्त्र त्यसै सेलाएजस्तो देखिएको छ । उनी सार्वजनिक गतिविधिमा चर्चा हुने गरी उति साह्रो देखिएकी छैनन् । पहिला जुन तरिकाले विपक्षी एकजुट भएको देखिएको थियो अब पनि त्यसलाई कायम राख्ने प्रयास भइरहेको छ । खासगरी, उत्तर प्रदेशमा जुन खालको विपक्षी महागठबन्धन बनेर खडा भएको छ र जसरी कांग्रेसले प्रियंका गान्धीलाई इन्ट्री गराएको छ त्यसको असर अझै पनि सामुन्नेमा आउन बाँकी रहेको छ ।

यो साँचो हो कि प्रियंका गान्धीले अझै आफ्नो मुठ्ठी खोलिसकेकी छैनन् । यसको असर अझैपनि सामुन्नेमा आउन बाँकी छ । अझै पनि उनको बारेमा कुनै पूर्वानुमान गर्न मुस्किल छ । प्रियंका गान्धीले अहिले सम्म एउटापनि सार्वजनिक बैठक गरेकी छैनन् भने पत्रकार सम्मेलन पनि गरेकी छैनन् । अहिलेसम्म उनी आफ्ना पतिको बारेमा भइरहेको कानुनी प्रक्रियामा घेरिएको महसुस भइरहेको छ । उनको भूमिका के होला ? उनी सर्वसाधारणसँग कसरी प्रस्तुत होलिन् ? यसलाई लिएर अझै पनि तस्विर प्रष्ट भइसकेको छैन ।

जहाँसम्म बाँकी सवालहरू छन् निश्चित रूपमा नै महागठबन्धन सक्रिय हुनेछ । गुजरातमा आगामी एक दुई दिनमा कांग्रेस कार्यसमितिको बैठक हुँदै छ । त्यसपछि, त्यहाँ पनि एक हिसाबले चुनावी बिगुल बज्नेवाला छ । कांग्रेसलाई आफ्नो मुद्दा सामुन्ने राख्नु छ । उसलाई देखाउनु छ, कि चुनाव प्रचारलाई ऊ कुन दिशामा लग्न चाहन्छ ।

पुलवामा घटनापछिको अवस्थामा भाजपाले राष्ट्रवादलाई प्रमुख मुद्दा बनाएको छ भने कांग्रेस आतंककारीसँग नरम रहेको उसले आरोप लगाइरहेको छ । हिजो सोमबार मात्रै पनि नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले कट्टरपन्थी जैश ए मोहम्मदका प्रमुख अजहरलाई ‘मसुद अजहरजी’ भनेर सम्बोधन गरेको कुरालाई भाजपाले आलोचना गरेको छ । केन्द्रीय मन्त्री स्मृति इरानीले प्रश्नोत्तरका रूपमा ट्वीट गर्दै भनेकी छन्, ‘राहुल गान्धी र पाकिस्तानबीच के समानता छ ? आतंकवादीलाई प्रेम ।’

पछिल्लो अवस्थामा बलाकोटमा भारतीय आक्रमणपछि मोदीको हाइहाइ भए पनि पाकिस्तानले लगत्तै जवाफी कारबाही गर्नु र एकजना पाइलटलाई गिरफ्तार गरेर पुनः छोड्नुले पाकिस्तान पनि कम रहेनछ भन्ने अवस्था सिर्जना गराइदिएकोले मोदीलाई केही अप्ठ्यारो पनि परेको छ ।

त्यसबाहेक कट्टरपन्थी समूहले भारतबाट बालाकोटमा भएको आक्रमणमा कुनै क्षति नभएको दाबी गर्नुले भारतभित्रै विपक्षी नेताहरूले कति मानिस त्यहाँ मारिए र के उद्देश्य प्राप्त भयो भनेर मोदीमाथि प्रश्न उठाइरहेका छन् । त्यसैगरी, त्यतिको संख्यामा भारतीय सुरक्षाकर्मी मारिँदा पनि भारतका गुप्तचर निकाय र सरकारले त्यसको अनुमान पहिला नै किन गर्न सकेनन् भन्ने प्रश्न पनि विपक्षीले उठाइरहेको छ ।

त्यसैले, चुनावमा पनि यसैको सेरोफेरोमा चर्चा परिचर्चा र आरोप प्रत्यारोप चल्ने अवस्था देखिएको छ । तर, को होला त अबको भारतीय प्रधानमन्त्री ? त्यो कुराको जवाफ भने आगामी मे महिनाको २३ तारेखमा आउने मत परिणामले प्रस्ट गर्नेछ । तर, चुनाव सुरु हुनुभन्दा एक महिना अघिसम्मको अवस्थालाई हेर्दा भने पुलवामा हमलापछि मोदी गान्धीमाथि हाबी हुन पुगेको अवस्था भारतीयहरूले अनुमान गरिरहेका छन् ।

प्रतिक्रिया