जिनपिङको सेतो कपालको चर्चा !

बेइजिङ । चिनियाँ राजनीतिको दशकौँ अघिदेखिको परम्परा तोड्दै राष्ट्रपति सी जिनपिङले सार्वजानिक रूपमा आफ्नो प्राकृतिक फुलेको कपाल सार्वजनिक गराइरहेका छन् ।

गत हप्ताको वार्षिक राष्ट्रिय सम्मेलनमा पनि उनी सेतो कपालमै देखापरेका हुन् । जसले अहिले सबैको ध्यानाकर्षण गराइरहेको बताइएको छ । ‘जिनपिङको कपाल’ भनी सर्च गर्दा कुनै तस्बिर नदेखाए पनि यसबारे चिनियाँ सामाजिक सञ्जालमा समेत व्यापक चर्चा सुरु भएको हो ।

पहिले ६० वर्षको उमेर कटे पनि चिनियाँ नेताहरू चम्किलो कालो कपालमा देखापर्ने गरेका थिए । चीनका क्रान्तिकारी नेता माओत्सेतुङको पालादेखि नै देशका नेताहरू भगवान्सरहको रूपमा देखिन चाहन्थे । जसकारण पनि उनीहरूको स्वरूप वा छवीमा कहिल्यै कुनै दोष पाइँदैनथ्यो । तर, राष्ट्रपति जिनपिङले भने आफूलाई साधारण चिनियाँ नागरिकका रूपमा प्रस्तुत गर्न चाहेकाले नै पुरानो परम्परा तोडेर नयाँ प्रवृत्तिको थालनी गरिरहेको सञ्चार माध्यम सिएनएनले जनाएको छ ।

प्रत्येक नागरिकको समर्थन प्राप्त गरी जनताका लागि काम गर्ने मान्छेका रूपमा स्थापित हुनकै लागि जिनपिङले यस्तो नीति अपनाइरहेको हुन सक्ने विश्लेषकहरूको भनाइ छ । किनकि, सन् २०१२ मा सत्तामा आएदेखि नै उनी ध्यानपूर्वक आफ्नो लोकप्रियता बढाउन निरन्तर प्रचारमा लागिरहेको देख्न सकिन्छ । यस्तोमा गरिबी हटाउने सुरुआती नीतिदेखि भ्रष्टाचार विरुद्धको ठूलो अभियानमार्फत उनले सबैमा कुशल राजनीतिज्ञ र असल व्यक्तित्वको छाप पार्न सफल पनि भइसकेका छन् ।

यसरी गत वर्ष उनलाई आजीवन सत्तामा रहने बाटो पनि खुलिसकेको छ । तर, जनतामाथि बलियो पकड राख्ने प्रयासअन्तर्गत इन्टरनेट, सामाजिक व्यवस्थापन लगायतका केही नीति नियमहरू भने विवादास्पद ठहरिएका छन् । यस्तोमा उनले माओ शैलीको निरंकुुश छवीबाट मुक्त हुन र आफूविरुद्ध भइरहेको आलोचना कम गराउन यस्तो रणनीति अपनाएको हुन सक्ने लामो समयदेखिका चिनियाँ राजनीतिक विश्लेषक प्रोफसेर विली लाम बताउँछन् । यो छलपूर्ण नीतिले उनलाई समानस्तरको साधारण व्यक्तिको रूप दिन सक्ने लामको भनाइ छ ।

त्यसैगरी, सुस्त बन्दै गएको अर्थतन्त्र अनि अमेरिकासँगको व्यापारिक तनाबका बीच जिनपिङले आन्तरिक चुनौतीको सामना गरिरहेको भन्ने हल्लालाई अर्थहीन तुल्याउन पनि यस्तो तरिका अपनाएको हुन सक्ने बताइएको छ । किनकि, यसले जिनपिङमा बढ्दै गएको आत्मविश्वासलाई संकेत गर्ने विश्लेषकहरू बताउँछन् ।

यसमार्फत उनको शक्तिलाई कुनै किसिमको खतरा नभएकाले नै उनी आफूले चाहे अनुरूप प्रस्तुत हुन सक्छन् भन्ने दर्शाउन खोजिएको न्युयोर्कस्थित चिनियाँ राजनीतिमा केन्द्रित मिडियाका प्रमुख पिन हो बताउँछन् । जिनपिङबाहेक अन्य प्रमुख नेताहरूले पनि पछिल्लो समय सेतो कपालसहित सार्वजानिक उपस्थिति जनाइरहेको पाइएको छ । जस्तै ः भाइस प्रिमियर लिउ ही र विदेश मन्त्री वाङ यी दुवै जिनपिङपछिका सबैभन्दा शक्तिशाली व्यक्तित्व मानिन्छन् ।

प्रतिक्रिया