जंगली हात्तीबाट किन गर्भवती हुन्छन् ढोई ?

चितवनको सौराहामा रहेको नेपालकै पहिलो हात्ती प्रजनन केन्द्रमा हात्तीको प्रजनन कसरी हुन्छ होला ? यसबारेमा जान्न मान्छेलाई उत्सुकता हुन सक्छ । त्यो स्वाभाविक पनि हो । हात्ती हतपत मान्छेको सम्पर्कमा रहँदैन । कि त निकुञ्जमा रहन्छ कि, जंगली हात्तीका रूपमा जंगलमा । अन्य घरपालुवा जनावरजस्तो हात्ती मान्छेको निकट नहुने भएकाले हात्तीका बारेमा आममान्छेलाई जानकारी हुँदैन ।

यस बारेमा जान्न अब धेरै अचम्म मान्नु पर्दैन । चितवनमा हात्तीको प्रजनन त्यहीँ पालिएका भालेबाट नभई निकुञ्जभित्र घुम्दै आउँने जंगली हात्तीबाट हुने गरेको त्यहाँका कर्मचारीले बताएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा घरेलु भाले हात्ती पनि छन् । तर, अधिकांश ढोई चितवनका वन–वनै हिँड्ने जंगली हात्तीसँगको संसर्गपछि गर्भवती हुने गरेका छन् ।

पछिल्लोपटक सौराहको हात्तीसारमा पालिएको लोकतन्त्रकली नाम गरेको गर्भिणी ढोईले गत फागुन–९ गते एउटा भाले छावा जन्मायो । त्यो ढोईको स्याहारमा खटिने कर्मचारीका अनुसार चितवनमा केही वर्षअघिदेखि निकै चर्चित बनेको धुर्बे नाम दिइएको जंगली हात्तीसँगको संसर्गबाट लोकतन्त्रकली गर्भवती बनेको थियो । कर्मचारी हाँस्दै भन्छन्, ‘यो छावाको बुवा धु्रर्बे हात्ती हो’ । यो सुन्दा मान्छेलाई अनौठो पनि लाग्छ ।

त्यसरी नै चितवनको सौराहमा पालिएका अन्य हात्तीको प्रजनन हुने गरेको अधिकारीहरू बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जले वन तथा वन्यजन्तु व्यवस्थापनसँगै संरक्षणका लागि पनि हात्ती पाल्ने गरेको छ । त्यो क्रम ०४२ सालबाट सुरु भएको हो ।

हात्तीलाई मान्छेको जस्तै नाम पनि दिइने गरिएको छ । ढोईलाई महिलासँग मिल्ने नाम दिइने गरिएको छ भने हात्तीलाई पुरुषसँग मिल्ने नाम दिइने गरिएको छ । अझै कैयौँ हात्तीको नाम नाम चलेका मान्छेका जस्तै पनि छन् ।

प्रजनन केन्द्र स्थापना गरेको दुई वर्षपछि रामपियारी भन्ने ढोईले पहिलो बच्चा जन्माएको हात्ती प्रजनन केन्द्रको हात्ती व्यवस्थापन शाखाका प्रमुख बुधन चौधरीले बताए । रामपियारी गर्भवती भएको कथा कम रोचक छैन । रामप्यारी गर्भवती भएका वेला निकुञ्जका कर्मचारी निकै खुसी भएका थिए, निकुञ्जमा नयाँ सदस्य थपिने कुराले उनीहरू निकै हर्षित भएको कर्मचारी बताउँछन् । उनका अनुसार मान्छेको घरमा नयाँ सदस्य आउने कुराले जति खुसी ल्याउँछ निकुञ्जमा ढोई गर्भवती हुने कुराले त्यस्तै खुसी ल्याउँछ ।

रामसपियारी ढोईलाई स्वर्गीय राजा वीरेन्द्रको कोशीटप्पु भ्रमणको वेला चितवनबाट लगिएको थियो । कोशी टप्पुमै गणेश नाम दिइएको जंगली हात्ती घुम्ने गर्दथ्यो । बुधन चौधरीका अनुसार रामपियारी त्यही गणेश भन्ने हात्तीबाट गर्भिणी भएर चितवन फर्कियो । त्यसले ०४४ साल कार्तिक २५ गते एक छावा जन्मायो । त्यसको नाम चितवनकली राखियो । त्यो नै चितवनको प्रजनन केन्द्रमा जन्मिएको पहिलो हात्ती थियो ।

चितवनमा पालिने हात्ती कहाँबाट आए भन्ने बारेमा पनि कतिलाई कौतूहलता हुन सक्छ । ०४० सालकै दशकमा नेपालले भारतलाई चारवटा गैँडा उपहार दियो । त्यसबापत नेपाललाई भारतले १६ वटा हात्ती दिएको थियो । भारतले ११ पोथी ५ भाले हात्ती दिएको थियो । तिनै हात्ती पालेर चितवनमा हात्ती प्रजनन केन्द्र स्थापना गरिएको हो ।

अधिकारीहरूका अनुसार उक्त प्रजनन केन्द्रमा हालसम्म ४८ वटा छावा जन्मिइसकेका छन् । तीमध्ये दुईवटा छावा मात्र घरपालुवा हात्तीको भएको र बाँकी वन–वनै डुली हिँड्ने जंगली हात्तीबाट प्रजनन भएको बुधन चौधरी बताउँछन् । उनका अनुसार पछिल्लो समयमा प्रजनन केन्द्रमा रहेका पोथी हात्तीहरू ‘ध्रुर्बे, नाना पाटेकर, रोनाल्डो र रोमियो’ जस्ता नाम दिइएका जंगली हात्तीबाट गर्भवती हुने गरेका छन् । यी नामका हात्तीहरू निकुञ्जका चिनिएका हात्ती हुन् ।

कर्मचारीहरू भन्छन्, ‘जंगली भाले हात्तीहरू रातको समयमा हात्तीसार र वरपरका वनमा आउने गर्छन् । त्यहाँ ढोईहरूलाई प्रायः फुकाएर छाडिएको हुन्छ । त्यस्तो वेला जंगली भालेले पोथीहरूलाई लिएर जंगल जाने गर्दछ जहाँ दुवै केही दिन सँगै रहने गर्दछन् । त्यसै क्रममा ढोईहरू गर्भिणी हुने गर्दछ ।’

ढोई घरेलु हात्तीबाट प्रजनन किन हुँदैन ? यस बारेमा पनि उत्सुकता हुने गरेको छ र ढोईहरूको प्रजनन जंगली हात्तीबाट मात्र किन हुन्छ ? भन्ने प्रश्नको जबाफ सजिलो छैन ।

चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार हात्तीसारमा राखिएका हात्तीहरू प्रजनन क्रियाकलापमा त्यति सक्रिया पाइएका छैनन् । त्यसैले, घरपालुवा भालेबाट बिरलै प्रजनन हुने गरेको छ ।

उनी भन्छन्, ‘घरेलु हात्ती प्रायः ढोईप्रति आकर्षित हुने गरेका छैनन् । पहिला थाइल्यान्डबाट ल्याइएको वीरेन्द्रप्रसाद भन्ने भाले हात्ती थियो, त्यो हात्तीबाट भने दुईवटा छावा जन्मिएका थिए । बाँकी सबैजसो जंगली हात्तीबाटै प्रजनन भएका हुन् ।’

सामान्यतया ढोई गर्भवती भएको २२ देखि २४ महिनामा छावा जन्माउने गर्दछ । गर्भवती भएका वेला हात्तीलाई पनि मान्छेलाई जस्तै आराम र स्याहार दिने गरिएको उनीहरू बताउँछन् । पोथी हात्ती गर्भवती भएपछि त्यस हात्तीलाई प्रजनन केन्द्रमा ल्याएर स्याहार सुसार गर्नुका साथै भेली (सख्खर), चामलको खीर, चना लगायतका पोषिलो खाना खुवाउने गरिन्छ । हात्तीलाई दैनिक १५ केजी धान, २५ ग्राम नुनलगायत आहारा दिने गरिन्छ । उनीहरूको शरीरअनुसार त्यतिको खाना आवश्यक रहेको उनीहरूको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा गरी ४० देखि ५० वटा जंगली हात्ती भएको अनुमान अधिकारीहरूको छ । तर, कति भाले र कति पोथी छन् भन्ने प्रस्ट छैन । ६२ वटा हात्ती चाहिँ चितवन राष्ट्रिय निकुञ्जमा पालेर राखिएका छन् । चितवनको प्रजनन केन्द्रमा अहिले माउ र बच्चा गरी २० वटा हात्ती रहेका छन् । तीमध्ये चारवटा ढोई गर्भवती छन् ।

घरपालुवा भाले हात्तीलाई जंगली हात्तीले आक्रमण गर्न सक्ने खतरा भएकाले भाले हात्ती नआउने स्थानमा घरेलु भाले हात्ती पालिएका छन् । तर, ती भाले हात्तीबाट भने हात्ती प्रजनन नहुने गरेको पशु स्वास्थ्य प्राविधिक पाण्डे बताउँछन् ।

हात्तीहरूको सहयोगमा चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीहरू गैँडा, बाघ र अन्य दुर्लभ वन्यजन्तुको संरक्षणका लागि गस्ती गर्ने गरिएको छ । हात्ती प्रजनन केन्द्रमा जन्मिएर हुर्केका हात्तीका छावालाई तालिमपछि देशका अन्य निकञ्जहरूमा पठाइने गरिएको छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया