‘बोर्ड’मार्फत परिक्षा संचालन गराउन आयोगको सुझाब

काठमाडौं । देशभरका सबै विद्यालयकोे परीक्षा प्रणालीलाई व्यवस्थित तथा एकरूपता कायम गर्न आवश्यक कार्यदिशा निर्धारणका लागि गठन गरिएको कार्यदलले स्थानीय परीक्षा बोर्ड गठन गर्न सुझाव दिएको छ ।कार्यदलले स्थानीय तहबाट सञ्चालन हुने आधारभूत तहको परीक्षामा परीक्षालाई मर्यादित एवं विश्वसनीय बनाउन अविछिन्न निकायका रूपमा स्थानीय तहमा ‘स्थानीय परीक्षा बोड’ गठन गर्न सुझाव दिएको हो ।

बोर्डमा सम्बन्धित स्थानीय तहका शिक्षा तथा खेलकुद शाखा प्रमुख, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, अभिभावक संघ, विज्ञ, प्रधानाध्यापक, शिक्षक महासंघको प्रतिनिधित्व रहने गरी ९ सदस्यीय बनाउन सुझाव छ । विद्यालयले कक्षा ८ मा अध्ययनरत विद्यार्थीको तथ्याङ्क अद्यावधिक गर्न शैक्षिक सत्र सुरु भएको तीन महिना भित्र रजिष्ट्रेशन फारम भरी स्थानीय परीक्षा बोर्डमा बुझाउने व्यवस्था मिलाउनु सुझाब दिएको छ । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले रजिष्ट्रेशन फारमको नमूना तयार गरी देशका सबै स्थानीय तहमा उपलब्ध गराउनु पर्ने कार्यदलको सुझाव छ ।

विदेशबाट अध्ययन गरी नेपालमा आधारभूत तहमा भर्ना हुन चाहनेस्वदेशी तथा विदेशी विद्यार्थीहरूलाई शिक्षा विकास तथा समन्वय इकाईले समकक्षता उपलब्ध गराएपछि मात्र विद्यालयले भर्ना लिने व्यवस्था गर्नुपन सुझाब दिएको छ । विद्यालयले प्रत्येक विद्यार्थीको परीक्षा आवेदन फाराम भरी परीक्षा सञ्चालन हुनुभन्दा एक महिना पहिले स्थानीय परीक्षा बोर्डमा बुझाइसक्नुपर्ने व्यवस्था मिलाउन सुझाब दिएको छ ।

विद्यालयले नतिजा प्रकाशनपश्चात् ग्रेडवृद्धि गर्न चाहने परीक्षार्थीको विवरण नतिजा प्रकाशित भएको एक हप्ताभित्र स्थानीय परीक्षा बोर्डमा उपलब्ध गराउनु पर्दछ र स्थानीय परीक्षा बोर्डले एक महिनाभित्र ग्रेडवृद्धि परीक्षा सम्पन्न गर्न सुझाब दिएको छ ।

प्रश्नपत्र निर्माण तथा परिमार्जनका लागि स्थानीय परीक्षा बोर्डले आफ्नो गाँउरनगरपालिका अन्तर्गतका विद्यालय शिक्षकहरूमध्येबाट सम्बन्धित विषयका विज्ञहरूको सूची तयार गर्न सुझाब दिएको छ । स्थानीय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको व्यवस्था गर्न भन्दै उक्त व्यवस्थाका लागि स्थानीय तहअन्तर्गतका विद्यालयहरूबाट विषयगत परीक्षक र सम्परीक्षकको सूची तयार गर्न सुझाब दिएको छ ।

आधारभूत तहको प्रमाणपत्र तथा लब्धाङ्कपत्रको विषयवस्तु, आकार, छपाइस्तर, रंग प्रकार र छाप आदिमा एकरूपता कायम हुने गरी राष्ट्रिय परीक्षा बोर्डले नमुना प्रमाणपत्र तयार गरी सबै स्थानीय परीक्षा बोर्डलाई उपलब्ध गराउनु सुझाब दिएको छ । आधारभूत तहको परीक्षा सञ्चालन र व्यवस्थापनमा एकरूपता कायम गर्न राष्ट्रिय परीक्षा बोर्डले यो कार्यदलद्वारा सिफारिस गरेका मापदण्डका आधारमा नमुना परीक्षा सञ्चालन र व्यवस्थापन निर्दे्शिका जारी गर्नु आह्वामन गरिएको छ भने सोही निर्दे्शिकाको प्रतिकूल नहुने गरी स्थानीय तहले परीक्षा सञ्चालन र व्यवस्थापन निर्दे्शिका निर्माण तथा कार्यान्वयन गर्नु सुझाब दिइएको छ ।

प्रा.डा. रामकृष्ण तिवारीको संयोजकत्वमा गठित कार्यदलले सोमबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा परीक्षा सञ्चालनका लागि ३२ वटा सुझाव दिएको छ । तिवारीको संयोजकत्वमा गठित कार्यदलमा शिक्षक महासंघका पूर्व महासचिव तिलक कुँवर, शिक्षा मन्त्री पोखरेलको सचिवालयमा विज्ञका रुपमा कार्यरत प्रकाश खतिवडा र चिरञ्जीवी बराल सदस्य सचिव भास्करदत्त पन्त थिए ।

प्रतिक्रिया