रानीपोखरी पुनर्निर्माणमा महिला

काठमाडौंको मुटुमा रहेको रानीपोखरी र त्यसको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर ०७२ को भूकम्पले भत्कायो । रानीपोखरीसँगै अन्य सम्पदा पनि भत्किएको थियो । तर, केही सम्पदा पुर्ननिर्माण भए, केही हुने क्रममा छन् । रानीपोखरी भने लामो समय पुनर्निर्माणको ढाँचामा अल्झिरहयो । विवादको घेरामा परेर पुनर्निर्माण हुन नसकेको रानीपोखरी अहिले पुनर्निर्माणको चरणमा छ । त्यो पनि महिला मजदुरकै बाहुल्यतामा

हातमा पहेँला रंगको पञ्जा र शिरमा फेटा गुथेका केही महिलाहरू रानीपोखरीको एक छेउमा सुकेका स–साना बुट्यान र घाँस काटिरहेका थिए । अर्को छेउमा उस्तै पहिरनमा रहेका महिलाहरू कोदालो र बेल्चा लिएर खनिरहेका देखिन्थे । अनि, अर्कोपट्टि भने एकजना पुरुष बलिरहेको आगोमा महिलाहरूले लगेर थुपारिदिएको फोहोर जलाइरहेका थिए । उनीहरू एकनासले काममा तल्लीन देखिन्छन् ।

दरबार हाई स्कुलपट्टिको सडक पेटीमा हिँडिरहेका बटुवाहरू कौतुलताका साथ टक्क रोकिदैँ नीलो बारको थेडबाट चिहाएर रानीपोखरीतर्फ हेरिरहेका देखिन्थे । रानीपाखरी यति वेला सबैको चासोको विषय बनेको छ । ‘कहिले बन्ला पुरानै रूपमा रानी पोखरी ?’ केही बटुवाको मुखबाट फूत्त निस्कन्छन पनी । सबैको सरोकारको बनेको छ ऐतिहासिक रानीपोखरी ।

रत्नपार्कपट्टिबाट चाहिँ केही व्यक्तिहरू रानीपोखरीभित्रै पसेर त्यहाँका गतिविधि नियालिरहेका थिए । पानी सुकाएर सुक्खा बनाइएको रानीपोखरी र त्यसको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको लामो समयसम्म पनि पुनर्निर्माण हुन नसकेका वेला गत सोमबारदेखि हरेक दिन यस्तै दृश्य देखिन्छ । त्यहाँ काम गर्नेहरू निकै उत्साहपूर्वक काम गरिरहेका हुन्छन् । आफ्नो दक्षता देखाउन आतुर जस्तै देखिन्छन् उनीहरू काममा ।

त्यहाँको सबै भन्दा रोचक दृश्य भनेको त्यहाँ काम गर्ने करिब ५० जनामध्ये दुईजना मात्रै पुरुष र बाँकी सबै महिला मजदुर हुनु हो । उनीहरू कुनै न कुनै काम गरिरहेका हुन्छन् । रानीपाखेरीको पुनर्निर्माण महिलाले सम्हालेका छन् भन्दा पनि हुन्छ त्यहाँको दृश्य हेरेर । किन की त्यो खाल्डोमा महिला नै महिला देखिन्छन् ।

रानीपोखरीमा मात्रै होइन, भूकम्पपछिको पुनर्निर्माणका क्रममा गाउँ–गाउँमा महिलाको सक्रियता निक्कै बढेको देखिन्छ । महिलाहरूले हरेक काममा आफ्नो सक्रियता देखाएका छन् । काममा महिला सहभागिता सकारात्मक पक्ष हो । यसले आउने दिनमा समेत उनीहरूलाई गरी खान सहज हुनसक्छ ।

तर, लामो समयसम्म विभिन्न खाले विवाद र काठमाडौं महानगरपालिकाका पदाधिकारीबीच देखिएको राजनीतिक रस्साकस्सी पश्चात् पुनर्निर्माण सुरु गरिएको रानीपोखरीमा संलग्न महिलाको धेरै संख्या विशेष खालको छ । उनीहरूले जानेको सीप कमै मान्छेसँग छ ।

त्यसको कारणबारे खुलाउँदै पुनर्निर्माणमा संलग्न भक्तपुरको भाजुपोखरी जीर्णोद्धार तथा पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद दुमरू भन्छन्, ‘पुनर्निर्माण प्राधिकरणले अनुरोध गरेपछि हामीले बूढापाकाबाट पोखरीमा पानी जम्ने गरी निर्माण गर्न सिपालु बनेका दिदीबहिनीलाई लिएर आएका हौँ ।’

विभिन्न विवादमा फस्दै आएको रानी पोखरीलाई हालै सरकारले पुनर्निर्माण प्राधिकरणमार्फत् पुनर्निर्माण गर्ने निर्णय गरेको हो । त्यसपछि यहाँको काम अघि बढेको छ । अब रानीपोखरी पुरानै अवस्थामा देख्न पाइएला भन्नेमा आममान्छेमा आसा पलाएको छ ।

पुनर्निर्माण प्राधिकरणको अनुरोधमा काममा आएका महिलाले अहिले अत्यन्तै मिहनतका साथ काम गरी रहेका छन् । उनीहरूका कामबाट प्राधिकरण पनि दंग छ भने बाटो हिँड्ने बुटुवाहरू रमाइलो मानेर हेर्ने गरेका छन् ।

प्राधिकरणले परम्परागत शैलीमै त्यसको पुनर्निर्माणका लागि उपभोक्ता समितिमार्फत काम सुरु गरेको अधिकारीहरू बताउँछन् । पहिले उक्त पोखरी पुनर्निर्माण सुरु गरिँदा त्यसमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न लागेको भन्दै विरोध भएको थियो । अधिकारीहरूका अनुसार फेरि त्यस्तै विवाद नआओस् भनेर प्राधिकरणले परम्परागत शैलीमा निर्माण गर्न सक्ने जनशक्तिको खोजी ग¥यो ।

अध्यक्ष दुमरू भन्छन्, ‘हामीलाई प्राधिकरणले भक्तपुर नगरपालिकामार्फत सम्पर्क ग¥यो, त्यसपछि दिदीबहिनीहरूलाई ल्याएर काम सुरु गरेका हौँ ।’ प्राधिकरणले उनीहरूलाई सम्पर्क गर्नुको कारण थियो, उनीहरूको समूहले भक्तपुरस्थित भाजुपोखरीमा पानी अडिने गरि पुनर्निर्माण सुरु गर्नु । यस प्रकारका कामका लागि उनीहरू दक्ष मानिएकाले नै रानीपोखरीको काममा उनीहरूलार्य सहभागी गराईको उनको भनाइ छ । यस प्रकारको काम गर्ने क्षमता भएको मान्छे सबै ठाउँमा नपाइने उनले बताए ।

उपत्यकाका पोखरीलाई परम्परागत प्रविधिमा पुनर्निर्माण नगर्दा त्यसको मौलिकता गुम्ने मात्र होइन पानी नै नअडिने देखिएपछि त्यसबारे जानकारहरूको खोजी गरिएको अधिकारीहरूको तर्क छ । त्यसक्रममा भक्तपुरेहरूमा त्यो सीप भएको पत्ता लागेपछि उनीहरूलाई रानीपोखरी निर्माणमा संलग्न गरिएको उनीहरू बताउँछन् ।

‘यो पोखरी पहिले नै पुनर्निर्माण हुनुपथ्र्यो । ढिलै भए पनि सुरु भएको छ । आउँदो तिहारसम्ममा पुनर्निमार्माण होला भन्ने आशा छ,’ रानीपोखरी पुनर्निर्माण उपभोक्ता समिति कोषाध्यक्ष होमप्रसाद खड्गीले भने ।

भक्तपुरका महिलाले चाहिँ कसरी सिके त पानी अडिने गरी पोखरी निर्माण गर्न ? भन्ने प्रश्नमा दुमरु भन्छन्, ‘हामीले बूढापाकाहरूसँग सोधखोज ग¥याँै र उनीहरूको अनुभव र सीपबाट सिकेर पुनर्निर्माण सुरु गरेका हौँ ।’ रानीपोखरीमा काम गर्न आएकी भक्तपुरकी रत्ना केशरीले पनि उनको भनाइमा सहमति जनाइन् ।

दुमरूसँगको संवाद सुनिरहेकी उनले पोखरीमा कसरी पानी अडिन्छ भन्ने अर्थयाउँदै भनिन, ‘अरू काम गरिसकेपछि माटो मुछेर पोखरीको भुइँ टाल्नुपर्छ, लिपपोत पनि गर्नुपर्छ । अरू माटोले हुँदैन, त्यसका लागि कालै माटो चाहिन्छ ।’ उनले भक्तपुरको भाजुपोखरीमा पनि सुरुमा पानी नरोकिएपछि कालो माटोले लिपपोत गरेपछि अडिएको बताइन् ।

रानीपोखरीमा पनि भक्तपुर वा पनौतीबाट कालो माटो ल्याउने तयारी रहेको बताइएको छ । रानीपोखरी पुनर्निर्माण सुरू भएपछि सरोकारवालाहरू यो पटक भने पोखरी र त्यसको बीचमा रहेको मन्दिर बन्नेमा ढुक्क देखिन्छन् ।

उनले पुरातात्तिवक कुरामा धेरै विवाद गर्नुहुन्न भन्ने कुरामा सबै सरोकारवाला सहमत भएपछि यसपटक सहमति भएको बताए । रानीपोखरी पुनर्निर्माणको अनुगमनका लागि खटिएका पुरातत्व विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठ आफूले दैनिक निर्माणस्थलको अनुगमन गरिरहेको बताउँछन् ।

उनले भने, ‘अब पहिले जस्तो विवाद आउने सम्भावना छैन । किनकि हामीले अहिले नियमित अनुगमन गरिरहेका छौँ र यसलाई मल्लकालीन शैलीमै बनाउनेमा सबै सहमत छौँ ।’ उनका अनुसार काठमाडौं महानगरपालिकाले पहिले पोखरी वरिपरी लगाएको पर्खाल भत्काइने छैन ।

उनले भने, ‘ठूलो रकम खर्च भइसकेकाले बनिसकेको पर्खाल भत्काउनुभन्दा त्यसको बाहिरपट्टी माटो लिपेर हुन्छ कि के गरेर हुन्छ परम्परागत देखाउने कोसिस गरिन्छ ।’ (बिबिसीको सहयोगमा)

प्रतिक्रिया