सामाजिक सुरक्षा कोषको लागू गर्दैनौँ

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनको महाधिवेशनमा उम्मेदवारी दर्ता गरेको टिकाराम पुरीको समूुहले तत्काल सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्थापन लागू गर्न नसक्ने उद्घोष गरेको छ ।

मंगलबारबाट सुरु हुने १४औँ महाधिवेशनका लागि उम्मेद्वारी घोषणा गर्दै समूहले न्यून र मध्यम आय वर्गका विद्यालयहरूले तत्काल उक्त व्यवस्था लागू गर्न नसक्ने उद्घोष गरेको हो । पेसागत व्यावसयिक समूहका नाममा संस्थाका सल्लाहकार टीकाराम पुरीको अध्यक्षतामा प्यानल घोषणा गर्दै उक्त समूहले आफ्नो १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

उक्त प्रतिबद्धतामा सरकारले लागू गरेको योगदानमा आधारित सुरक्षा कोष व्यवस्थापन गर्न नसक्ने तर्कसहित उक्त कानुन नमान्ने उद्घोष गरिएको छ । यसैगरी, अनिवार्य तथा निःशुल्क शिक्षा ऐनअन्र्तगत व्यवस्था गरिएको छात्रवृत्तिको प्रावधानलाई आफू अनुकुल रूपान्तरण गराउने उनीहरूको प्रतिबद्धता छ ।

ऐनमा पाँच सयसम्म विद्यार्थी भएको विद्यालयले १० प्रतिशत, आठ सयसम्म भएकाले १२ र त्योभन्दा माथि भएकाले १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । यस्तै विद्यालय शिक्षालाई मौलिक हकका रूपमा संविधानमा भएको व्यवस्था कार्यान्वयनका लागि सरकारले बनाउन लागेको शिक्षा ऐनलाई पनि आफू अनुकुल निर्माण गर्ने उक्त समूहले उद्घोष गरेको छ । आफूले जितेमा कम्पनीमा सञ्चालित विद्यालयहरू कम्पनीअन्र्तगत नै सञ्चालन गर्न पाउने व्यवस्था स्थापित गराउने घोषणा प्राथमिकताका साथ उल्लेख गरिएको छ । घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार पुरीले उक्त कोषका ब्यवस्था र आयोगको प्रतिवेदनको आलोचना गरेका थिए ।

यस्तै, सरकारी तलब सुविधा लिनेका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्थाको विरोध गर्दै उक्त समूहले बालबालिकाको विद्यालय छनोट गर्न पाउन व्यवस्था कायम गराउने प्रतिबद्धता पनि जनाएको छ । आफ्नो प्यानलले जितेमा प्रदेश सरकारले निर्माण गर्ने ऐन नियम निजी विद्यालय मैत्री बनाउन पहल गर्ने, उच्च शिक्षामा उपलब्ध गराईने ४५ प्रतिशत छात्रवृत्तिमा गरिएको विभेद अन्त्य गर्ने उक्त समूहले जनाएको छ ।

यस्तै, प्राविधिक शिक्षा कार्यक्रमलाई निजी विद्यालयमा पनि समान ढंगले लागू गर्ने वातावरण निर्माण गर्ने, दैवी प्रकोपका वेला विद्यालयलाई आवश्यक पर्ने सहयोगका लागि राष्ट्रियस्तरमा राहतकोष स्थापना गर्नेलगायत संगठन र सदस्यहरूका पक्षमा काम गर्ने उक्त समूहको प्रतिबद्धता छ ।

यस्तै, (प्याब्सन)ले महाधिवेशनमा पुरीको समूहले उम्मेदवारी घोषणा गरेको छ । फागुन २८ र २९ गते राजधानीमा हुन लागेको महाधिवेशनमा नयाँ कार्यसमितिको निर्वाचनका लागि आफ्नो समूहको उम्मेदवारी घोषणा गरेको हो । अध्यक्ष टिकाराम पुरीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा गोपाल आचार्य, कृष्ण खनाल, अनिल कुमार झा र दीपिका थापा रिमाल छन् ।

त्यस्तै, प्रदेशतर्फको उपाध्यक्षमा प्रदेश–१ बाट नारायण घिमिरे, प्रदेश–२ बाट गोपाल कार्की, प्रदेश–३ बाट शान्तविक्रम बानियाँ, प्रदेश–४ गण्डकीबाट माधवशरण उपाध्याय, प्रदेश–५ बाट विष्णु पन्थी, प्रदेश–६ कर्णालीबाट महेश देवकोटा र प्रदेश–७ सुदूरपश्चिमाञ्चलबाट फणिन्द्रराज बिनाडीले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी, महासचिव पदमा लागि ईश्वरबहादुर गुरुङ, उप–महासचिव पदमकुमार घिमिरे, कोषाध्यक्षमा मधु लोहनीले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, सह–कोषाध्यक्षमा जीवन आचार्य र मिनप्रसाद बन्जाडेले उम्मेदवारी घोषणा गरेका छन् ।

सचिव पदमा लागि राजेशकुमार दास, रत्न महर्जन, राजकुमार महर्जन र संगीता सिलवालले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया