अलैँची ‘जोन’ कार्यक्रम प्रभावकारी बन्दै

भोजपुर । जिल्लामा प्रधानमन्त्री अलैंची ‘जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अलैंची खेतीमा कृषकको आकर्षण बढिरहेका वेला सो कार्यक्रमले अनुदानसँगै प्रविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बनेको हो ।

सो कार्यक्रमअन्तर्गत जिल्लाका ९८ कृषक समूह तथा कृषि फार्म जोनमा आबद्ध छन् । साथै ३८ ले योजना माग गरेको परियोजनाको अलैँची जोन कार्यालयले जनाएको छ । अलैँची कृषकका समस्यालाई समाधानका लागि सहयोग गरेर कार्यक्रमलाई किसान लक्षित बनाइएको छ । अलैँची जोनका निमित्त प्रमुख खिरप्रसाद राईले विगतमा अलैँची खेतीमा लागेका कृषक समूहलाई जोनमा आबद्ध गराएर कार्यक्रम सञ्चालन गरिएको बताए ।

जिल्लाका नौ स्थानीय तहमध्ये ६ स्थानीय तहका ३० वडामा अलैँची जोन परियोजना सञ्चालनमा छ । परियोजनाअन्तर्गत अलैँचीको बिरुवासँगै प्राविधिक सहयोग पाएपछि कृषक उत्साहित बनेका हुन् । परियोजनाले कृषकको घर–घरमै पुगेर उनीहरूका समस्या तथा माग गरिएका आयोजनाको अवलोकन गरिरहेको छ । सो कार्यक्रम सञ्चालन भएपछि अझै अलैँचीको उत्पादनमा वृद्धि हुने कृषकको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका कृषक सीताराम लुइँटेलले भने, ‘हामीले पहिलाबाट नै अलैँची खेती गर्दै आएका थियाँै, तर यो कार्यक्रम सञ्चालनमा आएपछि हामीलाई धेरै सहयोग मिलेको छ, सिँचाइ र रोगकिराको समस्या ध्यान दिए राम्रो हुने थियो ।’ सोही गाउँपालिका–७ कोटका अर्का कृषक देवीप्रसाद खतिवडाले सो कार्यक्रम सञ्चालनमा आएपछि धेरै कृषकहरू अलैँची खेतीमा लागेका बताए । जिल्लाको ६ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची उत्पादन भइरहेको र अझै एक हजार हेक्टर क्षत्रफलमा विस्तार गर्न सकिने अलैँची जोन कार्यालयले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत जिल्लामा ४९ लाख बराबरको कृषक लक्षित कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया