१ हजार जनासँग लड्दै रामचरण

एजेन्सी, मुम्बई । दक्षिण भारतीय सुपरस्टार अभिनेता राम चरणले करिब एक हजार जनासँग भिड्ने चलचित्र ‘आरआरआर’ को यतिवेला बलिउडमा चर्चा चुलिएको छ । चर्चित चलचित्र ‘बाहुबली’ पछि भारतीय चलचित्रलाई हेर्ने विश्वदृष्टिकोण फेरिएको छ । यसैमार्फत विश्व मानचित्रमा भारतीय चलचित्रका अनुहार बनेका एसएस राजामौलीको आगामी सिनेमा ‘आरआरआर’ मा अभिनेता राम चरणको विषयलाई चर्चा चलेको छ । उक्त चलचित्रमा समकालीन दुई स्टार राम चरण र जुनियर एनटिआरको टिमअप भएपछि ठूलै कौतुहलता जागेको छ ।

चलचित्रको १० दिनसम्मको सुटिङ गत डिसेम्बरमै सकिसकेको छ । यसै चलचित्रको दोश्रो चरणको सुटिङ रामा राव स्टुडियोमा सुरू भएको छ । जहाँ एक एक्सन दृश्यमा अभिनेता राम चरणले करिब एक हजार जनासँग एक एक्सन सिक्वेन्समा अभिनय गर्ने खबर बाहिरिएको छ । भारत स्वतन्त्र हुनुअघिको एक घटनाको विषयमा केििन्द्रत रहेर निर्माण गरिएको चलचित्रमा एक डाँकु र पुलिसको कथा रहेको छ । पुलिस र डाँकुबीचको भएको भिडन्तको यो एक्सन सिन भारतीय चलचित्रमै अहिलेसम्मकै भव्य हुने जनाइएको छ । चलचित्रमा यो दृश्यका साथसाथै अन्य ठूलै एक्सन दृश्य रहने जनाइएको छ । त्यस्तै राम चरणमाथि बनाइन लागिएको एक्सनको दृश्यलाई एक अल्मुनियम उद्योगमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रको उक्त एक्सनका लागि कलाकारको छनोट भइरहेको छ । चलचित्रमा अभिनेत्री आलिया भट्ट तथा परिणिति चोपडाको समेत भूमिका रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, चलचित्रमा जुनियर एनटिआर डाँकाको भूमिका र राम चरण प्रहरीको भूमिका रहनेछन् ।

प्रतिक्रिया