आचार्यको ‘गणतन्त्रको यात्रा’

काठमाडौं । नेपाली कांग्रेसमा वैचारिक नेताको छवि बनाएका नेता नरहरि आचार्यको संस्मरणात्मक कृति प्रकाशन हुने तयारीमा छ । नेपालको पछिल्लो राजनीतिक घटनाको विकास र त्यसले ल्याएको परिवर्तनका विषयमा आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा ः बन्दी वृत्तान्त’ प्रकाशनको अन्तिम तयारीमा रहेको छ ।

नेपाली राजनीतिमा बौद्धिक छवि बनाएका आचार्य गणतन्त्रका सुरुवातकालीन अभियन्तासमेत हुन् । कांग्रेसभित्रै गणतन्त्रको बहस छेडेर पार्टीलाई यसै दिशामा लैजान अभिप्रेरित गर्ने व्यक्तित्वका रूपमा समेत आचार्य परिचित छन् । नेपालमा गणतन्त्रको औचित्यका बारेमा माहोल बनाउन आचार्यले दोस्रो जनआन्दोलन सुरु हुनुअघि नै विभिन्न अभियान चलाएका थिए ।

दरबार हत्याकाण्ड र त्यसपछिको विकसित नेपाली राजनीतिलाई नजिकबाट नियालेका आचार्यले ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको ‘कू’ र त्यसपछिको नेपाली राजनीतिलाई समेत पुस्तकमा उधिनेका छन् । ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भएको राजनीतिको कोर्स परिवर्तनपछि धेरै नेता कार्यकर्ताको धरपकड सुरु भयो । कतिलाई जेलमा कोचियो । यसैक्रममा नेता आचार्यलाई ०६१ माघ २१ गते बन्दी बनाइयो । उनले शाही सत्ताले आफू बन्दी बनाएको बेला टिपेका विषयलाई पुस्तकमा उतारिएको छ ।

पुस्तक आफ्नो एक समयको बन्दी जीवनको वृत्तान्त भएको आचार्यले बताए । उनले भने, ‘म बन्दी रहेको कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई सुनिश्चित ग¥यो र परिवर्तनको आधार तयार पा¥यो ।’ उनले गणतन्त्रको यात्रामा हिँडेको बाटोका प्रसंग र सन्दर्भहरू पुस्तकमा स्मृतिका रूपमा रहेको जिकिर गरे । चैतमा बजारमा आउने तयारीमा रहेको यस पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गर्न लागेको हो ।

प्रतिक्रिया