भेनेजुएला–कोलम्बियाको सीमा पनि बन्द

भेनेजुएला । केही समययता राजनीतिक तनावमा रुमलिएको भेनेजुएलाले कोलम्बियासँगको सिमाना आंशिक रूपमा बन्द गरिएको जनाएको छ ।

यात्रा प्रतिबन्धको अवज्ञा गर्दै विपक्षी नेता हुवान गुआइदोले सीमा काटेलगत्तै पछिल्लो खबर प्रकाशमा आएको हो । उपराष्ट्रपति डेल्सी रोड्रिगुएजले देशको सार्वभौमसत्ता र सुरक्षामाथि गम्भीर खतरा भएकोले ‘आशंक रूपमा सिमाना बन्द गरिएको’ भन्दै ट्विट गरेका छन् ।

भेनेजुएलामा मानवीय सहायता वितरणको विषयलाई लिएर तनाव चुलिएको छ । ब्राजिलसँगको सिमानामा भेनेजुएलाका सुरक्षाकर्मीसँगको झडपमा शनिबार दुईजना मारिएका छन् ।

सो हिंसाको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । उसले एउटा वक्तव्यमा भनेको छ, ‘भेनेजुएलाको सेनाले मानवीय सहायता शान्तिपूर्ण रूपमा देशभित्र छिर्न दिनुपर्छ । संसारले हेरिरहेको छ ।’

गुआइदोले गत महिना आफूलाई देशको अन्तरिम नेताका रूपमा घोषित गरेका थिए । त्यसयता उनले अमेरिकासहित दर्जनौँ मुलुकको समर्थन पाएका छन् । उनले राष्ट्रपति निकोलास मदुरोको शासनलाई अवैध भन्दै आएका छन् ।

सन् २०१८ मा मदुरो पुनर्निवाचित भएका वेला चुनावमा धाँधली भएको गुआइदोको आरोप छ । भेनेजुएलाका सिमानाहरूमा रोकिएका सयौँ टन मानवीय सहायतालाई लिएर गुआइदो र मदुरोबीच झन् तनाव चुलिएको हो ।

मदुरोले खानेकुरा र औषधि सहितका मानवीय सहायतालाई मुलुकभित्र छिर्न अस्वीकार गर्दै आएका छन् भने गुआइदोले हजारौँ स्वयंसेवकले त्यसलाई देशभित्र छिराउने बताएका छन् ।

शुक्रबार करिब ३ सय मिटरको दूरीमा दुवै पक्षले कोलम्बियासँगको सिमानामा सांगितिक कार्यक्रमको आयोजना गरेका थिए । सन् २०१३ मा मदुरोले सत्ता सम्हालेयता भेनेजुएलाको आर्थिक स्थिति ब्रिगिँदो छ ।

संयुक्त राष्ट्र संघका अनुसार पछिल्ला केही वर्षयता ३० लाख मानिसले मुलुक छाडिसकेका छन् । उच्च मुद्रा स्फीतिले अत्यावश्क सामानको मूल्य आकासिएको छ र कतिपय मान्छे खाना एवं औषधिजस्ता आधारभूत आवश्यकता पनि पूरा गर्न असमर्थ छन् ।

गुआइदोले भेनेजुएलाका नागरिकलाई मर्नबाट रोक्न सहायता सामग्रीको वितरण अपरिहार्य रहेको बताउने गरेका छन् । तर, मदुरोले देशभित्र कुनै संकट नरहेको र अमेरिकी सहायता योजनालाई नाटकको संज्ञा दिने गरेका छन् ।

प्रतिक्रिया