श्रमशीललाई अर्किड कप

काठमाडौं । श्रमशील विद्यापीठले चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको फाइनलमा श्रमशीलले टाइमलाइनलाई ३–० गोलअन्तरले पराजित ग¥यो । श्रमशीलका रोशन लिम्बूले २ तथा सुनील कट्वालले १ गोल गरे । सुरुको संस्करणदेखि सहभागिता जनाउदै आएको श्रमशीलले पहिलोपटक उपाधि जित्दै नयाँ च्याम्पियन बनेको हो ।

दुई संस्करणमा नेक्सस च्याम्पियन बनेको थियो भने बाँकी एकमा वेस्ट ग्रुप भिजन विजेता भएको थियो । नकआउट प्रतियोगितामा श्रमशीलले फाइनलसहित ५ खेलमा जित हात पार्यो ।  फाइनलअघि श्रमशीलले न्यु होलीक्रस, वेस्ट ग्रुप, करियर र एकलब्य शिक्षा सदनलाई हराएको थियो । उपाधिसंगै श्रमशीलले २० हजार तथा टाइमलाइनले १५ हजार नगद पुरस्कार हात पारे ।

तेश्रो स्थानका लागि भएको खेलमा विनायकले एकलब्यलाई १–० गोलले पाखा लगायो । विनायकले १० हजार नगद पुरस्कार पायो । एकलब्यलाई ५ हजार नगद पुरस्कार प्रदान गरियो । श्रमशीलका रोशन लिम्बू प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।

विनायकका युवराज गोर्खाली उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ५ गोल गरेका श्रमशीलका प्रकाश बस्नेत सर्वाधिक गोलकर्ता बने । ग्लोबल पब्लिकले अनुशासित टिमको उपाधि हात पा¥यो । विजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, अर्किडका संस्थापक अध्यक्ष प्रेमकुमार भुजेल, आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख इन्द्र कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २९ गतेदेखि सुरु प्रतियोगितामा ४० टिम सहभागी थिए ।

प्रतिक्रिया