किम ट्रम्पसँग वार्ताका लागि भियतनाम जाँदै

हनोइ । उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि भियतनाम जाने तयारीमा छन् ।

शनिबार उनले भ्रमण गर्ने भन्दै औपचारिक रूपमा घोषणा भएको हो । भियतनामको हनोइमा किम र ट्रम्पबीच यही फेब्रुअरी २७ र २८ मा वार्ता हुने भएको छ । ‘किम जोङ उन छिट्टै भियतनामको भ्रमण गर्ने छन्,’ भियतनामको विदेश मन्त्रालयले शनिबार आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ ।

यसका लागि किमलाई भियतनामका राष्ट्रपति तथा कम्युनिस्ट नेता न्ग्युएन फु ट्रोंगले आधिकारिक निमन्त्रणा पठाइसकेका थिए । भ्रमणबारे अरू विस्तृत जानकारी भने दिइएको छैन । सरकारले सार्वजनिक गरेको सूचनामा किमको भ्रमणको समय तालिका सार्वजनिक गरिएको छैन । एएफपी न्युज एजेन्सीले भने स्रोतको हवाला दिँदै यही फेबु्रअरी २५ वा २६ मा भियतनाम आइपुग्ने उल्लेख गरेको छ ।

किम र ट्रम्प भने आगामी २७ र २८ फेब्रुअरीमा भेटवार्ता गर्ने तालिका छ । किम र ट्रम्पको दोस्रो पटकको यस वार्तालाई विशेष महत्वका साथ हेरिएको छ । उनीहरूबीच पहिलो वार्तामा भएका सम्झौतालगायत विषयमा यसपटक वार्ता हुने बुझिएको छ ।

प्रतिक्रिया