विषाक्त मदिराले मर्नेको संख्या ६९ नाघ्यो

गुवाहाटी । भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । अन्य २ सय जना बिरामी भएर अस्पतालमा रहेका अधिकारीहरूले शनिबार जनाएका छन् । मृत्यु भएका र बिरामी भएका सबैजना श्रमिक रहेको बताइएको छ ।

योबाहेक भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ता भित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ ।
‘हामीलाई प्राप्त पछिल्लो विवरणअनुसार गोलाघाटमा गत बिहीबार रातीदेखि अहिलेसम्म मृत्यु हुनेको संख्या ५० पुगेको छ,’ आसामको गोलाघाट जिल्लाका उपआयुक्त धिरेन हजारिकले भने ।

अर्का सरकारी अधिकारीले छिमेकी जिल्ला जोर्हाटमा विषाक्त मदिरा सेवनका कारण १९ जनाको मृत्यु भएको जानकारी दिएका छन् । देशको उत्तरपूर्वी राज्य आसाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरूको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । मृत्यु भएका र बिरामी भएका मध्ये धेरैजना महिला रहेका छन् ।

‘बिरामी भएका मध्ये धेरैले बान्ता गर्दै अस्पताल आएका थिए, अत्यधिक पीडा भएको र श्वासप्रश्वासमा गाह्रो भएको बताएका थिए,’ अस्पतालका एकजना चिकित्सक रातुल बोर्डोलोइले भने ।

आसामका मुख्य मन्त्री सर्वानन्द सोनोवालले घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएका छन् । प्रदेश प्रहरीले घटनामा दोषी भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । भारतमा विषाक्त मदिरा सेवनका कारण हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया