तेस्रो काठमाडौं पिंकाथन उपाधिमा कान्छीमाया कोजुको ह्याट्रिक

काठमाडौं । पिंकाथन काठमाडौंको तेस्रो संस्करणको उपाधि सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले जितेकी छन् । यसपटक पनि मुख्य प्रतिस्पर्धा हाफ म्याराथनमा सशस्त्र प्रहरीकी कोजु विजयी हुँदै लगातार तेस्रो पटक उपाधि जितेर प्रतियोगितामा ह्याट्रिक गरेकी हुन् । यसअघिका दुई प्रतियोगितामा पनि कान्छीमायाले नै उपाधि जितेकी थिइन् । एपीएफकी धाविका कान्छीमायाले निर्धारित दूरी १ घण्टा २१ मिनेट ४४ सेकेन्डमा सकाइन् ।

यो स्पर्धामा नेपाल प्रहरीकी राजपूरा पछाई दोस्रो भईन् भने एपीएफकी पुष्पा भण्डारी तेस्रो भईन् । हाफ म्याराथनमा प्रथम हुनेले ५१ हजार नगद पुरस्कार जित्दा दोस्रो हुनेले ३१ हजार तथा तेस्रो हुनेले २१ हजार नगद पुरस्कार हात पारे । यसैगरी १० किलोमिटरतर्फ एपिएफकी सन्तोषी श्रेष्ठ प्रथम हुँदा चन्द्रा राउत दोस्रो तथा सरस्वती कडायत तेस्रो भए । यो स्पर्धाका विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार तथा तेस्रो हुनेले ११ हजार नगद पुरस्कार हात पारे ।

५ किलोमिटरतर्फ सामना कार्कीले प्रथम हुँदै ११ हजार नगद पुरस्कार जितिन् । यसैगरी फूलमती राना दोस्रो भईन् भने काजल विष्ट तेस्रो भईन् । ३ किलोमिटर दौडमा सानुका थापा प्रथम हुँदा स्वस्तिका श्रेष्ठ दोस्रो तथा प्रतिमा कार्की तेस्रो भए । विजेता खेलाडीलाइ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित बलिउड सुपर मोडल मिलिन्द सोमन, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव राजिव श्रेष्ठ लगायतका अतिथिले पुरस्कार वितरण गरे ।

महिला सशक्तीकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय सुपर मोडेल, फिटनेस गुरु तथा बलिउड अभिनेता मिलिन्द सोमनले पिंकाथन अभियान सुरु गरेका हुन् । भारतको सबैभन्दा ठूलो महिला दौड प्रतियोगिता पिंकाथन विगत तीन वर्षदेखि नेपालमा पनि भइरहेको छ । नेपालमा लेजर पोर्ट नेपालले यो इभेन्ट गर्दै आएको छ । पिंकाथन काठमाडौंको यो तेस्रो संस्करणमा झण्डै २५ सय महिला सहभागी भएको आयोजक संस्था लेजर पोर्ट नेपालका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिनुभयो ।

बलिउड सुपर मोडल मिलिन्द सोमनले सुरु गरेको पिंकाथन पछिल्लो समय भारतका विभिन्न ८ शहर तथा नेपालको काठमाडौंमा आयोजना हुँदै आएको छ । आईरन म्यानको उपनामले चिनिने मिलिन्द सोमनको कल्याणकारी संस्था युनाईटेड सिस्टर्स फाउन्डेसनले महिलाका लागि हरेक वर्ष उत्सवकै रुपमा यो कार्यक्रम गर्दै आएको छ । महिलाहरुले मात्रै भाग लिन पाउने पिंकाथनमा हाफ म्याराथन र १० किलोमिटर दौडमा प्रतिस्पर्धा हुने गरेको छ ।

यसपटक ५ किलोमिटरतर्फ पनि प्रथम हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो । सबै उमेर समूहका महिलाले भाग लिन सक्ने गरी ३ किलोमिटरको दौडसमेत समावेश गरिएको ्थियो । यसपटक प्रहरी प्रधान कार्यालय नक्सालमा यो इभेन्ट आयोजना गरिएको हो । भारतीय सुपर मोडल मिलिन्द सोमनसँगै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया