फेरि अशान्ति आरम्भ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कमीकमजोरी तथा राज्य पुनसंरचनाको मर्मबारे टिप्पणी गर्दै यस्तै अवस्था रही रहे फेरि माओवादी जन्मने खतरा औँल्याएका थिए । दुई साताअघि अध्यक्ष प्रचण्डले गरेको यो टिप्पणीको मौखिक जवाफ दिँदै विद्रोही नेकपा (माओवादी) का अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले भनेका थिए, ‘अाँफू पथभ्रष्ट हुँदैमा माओवादी सकियो भन्ने नठाने हुन्छ, माओवादी अझ सशक्त रूपमा जनताबीच क्रियाशील छ ।’ सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्डलाई विद्रोही माओवादीका अध्यक्ष विप्लवले दिएको यो मौखिक जवाफ खतराको संकेत हो भन्ने विश्लेषण त्यतिवेला गरिएको थियो । साथै, विद्रोही माओवादीको संगठन विस्तार तथा उसले तयार गरेको लडाकु जत्था ‘रेडफोर्स’ मा आबद्ध हुनेहरूको संख्याका विषयमा मिडियाले सुरक्षा निकायको हवाला दिँदै समाचार प्रकाशित गरेका थिए । प्रचण्डको नेतृत्वमा ०५२ साल फागुन १ गते ‘जनयुद्ध’ आरम्भ गर्दाको अवस्थाको माओवादी भन्दा अहिले विप्लवको नेतृत्वमा रहेको माओवादीको प्रभाव प्रभुत्व तथा लडाकुको संख्या ठूलो रहेको समाचार आएको थियो । विप्लव अझै शक्ति सञ्चयको रणनीतिमा रहेकाले तत्काल भौतिक आक्रमण नगर्ने समाचार पनि सुरक्षा निकायको हवाला दिँदै मिडियाहरूले सार्वजनिक गरेका थिए । तर, सुरक्षा निकायले सही समाचार नदिएको हो या सूचनाको पहुँच सुरक्षा निकायसँग नभएको हो ? भन्ने अन्योलता गत शुक्रबार राजधानी काठमाडौंलगायत देशका विभिन्न भूभागमा भएका बम आक्रमणका घटनाले पुष्टि गरेको छ । शुक्रबार नक्खुमा रहेको एनसेलको भएको बम विष्फोटमा एक जनाको मृत्यु भएको छ भने २ जना सख्त घाइते भएका छन् । यसैगरी, बागलुङ जिल्लाको बागलुङ नगरपालिका–७ मूलपानी, गल्कोट नगरपालिका ८ काँँडेबास र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेका एनसेलका टावरमा पनि विस्फोट भएको छ । काठमाडौ“को कमलपोखरीस्थित आ“गन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको औपचारिक जिम्मेवारी अहिलेसम्म कसैले नलिएका कारण सुरक्षा निकायले अज्ञात समूहद्वारा बम विष्फोट गराइएको भन्दै आएको छ । तर, बम विष्फोटनमा नेकपा माओवादीकै हात रहेको एनसेलको स्रोतलाई उल्लेख गर्दै मिडियाले जनाएको छ । माओवादीहरूले मागेजति चन्दा दिन नसक्दा बम फिष्फोट गराइएको जानकारी एनसेल स्रोतले मिडियालाई दिएको छ । विगतमा प्रचण्ड नेतत्वको माओवादीले ‘जनयुद्ध’ सुरु गरेको निकै वर्षपछि मात्रै राजधानी काठमाडौंमा घटना गराउन सफलता पाएको थियो । तर, यतिवेला विप्लव नेतृत्वको माओवादीले प्रारम्भमै राजधानी काठमाडौंमा घटना गराएको छ । जहाँ चाह्यो त्यहीँ घटना गराउन सक्ने सामर्थ्य विप्लव नेतृत्वको माओवादीले राखिसकेको त होइन ? भन्ने आशंकाका कारण जनजीवन त्रस्त बन्न थालेको छ ।

मुलुक फेरि १३ वर्षअघिजस्तै द्वन्द्वको दुष्चक्रमा फस्ने संकेत देखिएको छ । विगतमा यस्तो संकेतलाई प्रमुख राजनीतिक दल तथा शक्तिहरूले गम्भीरता पूर्वक नलि“दा मुलुकले अकल्पिनीय क्षति भोग्नुप¥यो । मुलुक तहसनहस नै भयो । अब दलहरूले विगतबाट पाठ सिक्नुपर्छ । विगतमा प्रचण्डको नेतृत्वमा माओवादीले जनयुद्ध सुरु गर्दा नेपाली कांग्रेस र नेकपा एमाले एक अर्काको अस्तित्व नस्वीकार्ने गरी प्रतिस्पर्धामा जुटिरहेका थिए । यही मौकामा शक्ति आर्जन गर्ने दाउमा तत्कालीन राजा तथा शाही नेपाली सेना लागेको थियो । कांग्रेसभित्र पनि र एमालेभित्र पनि गुटगत संघर्ष चर्केर पार्टी विभाजनसम्मको अवस्था सिर्जना भएको थियो । जसका कारण माओवादी विद्रोहलाई मलजल पुगिरहेको थियो । यसपटक पनि मुलुकमा विद्यमान प्रमुख राजनीतिक दलहरूभित्र त्यो संकेत देखिएको छ । नेकपा एमाले र माओवादीबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टीले अझै एकीकरणको धोती स्याहार्न सकिरहेको छैन । आफ्नै धोती स्याहार्न नसकेको सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शब्दैपिच्छे प्रमुख प्रतिपक्षी दललाई सिध्याइदिन्छु, नामेट पारिदिन्छु भनिरहेका छन् । प्रधानमन्त्री ओलीको कुनै सार्वजनिक अभिव्यक्ति हुँदैन जहाँ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सिध्याइदिन्छु भन्ने शब्दहरू नपरेका होऊन् । हिजो गिरिजाप्रसाद कोइरालाले एमालेविरुद्ध यस्तै कटाक्ष गर्दा दिँदा एमालेका कार्यकर्ताहरूले प्रारम्भमा माओवादीका लागि कांग्रेसविरुद्ध सुराकीको काम गरेका थिए । एमालेका कतिपय कार्यकर्ताहरू दिउँसो एमाले र राती माओवादी बन्ने गरेको चर्चा थियो । आज प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई त्यसरी नै चिढ्याइरहेका छन् । यसैगरी, विस्थापित राजतन्त्रले पक्कै पनि हातमा दही जमाएर बसेको छैन । वर्तमान शासन व्यवस्थालाई असफल पार्नु उसको एक मात्रै रणनीति हो । यसका लागि माओवादीहरू सहयोगी हुन सक्छन् भन्ने विश्लेषणमा राजावादीहरू छन् । त्यसैगरी, छिमेकी मित्रराष्ट्र भारतले पनि प्रधानमन्त्री ओलीलाई बदलाको भावनाले हेरेको हुनुपर्छ । मधेसी आन्दोलन तथा नाकाबन्दी तुहिनुको पीडा पालेर बसेको छिमेकी मित्रराष्ट्र भारतले विप्लव माओवादीलाई प्रयोग गर्नसक्ने सम्भावनातर्फ सरकार चनाखो हुनुपर्छ । सर्व प्रथमतः खतराको संकेत देखिएको यो घडीमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षबीचको दूरी घट्नु पहिलो आवश्यकता हो ।

प्रतिक्रिया