चुनढुंगा खानी अलपत्र

सल्यान । यस जिल्लामा चुनढुंगा बिक्रीमार्फत लाखौं आम्दानी हुने भए पनि सरकारी निकायको बेवास्ताले वर्षौंदेखि चुन ढुंगा खानी अलपत्र अवस्थामा रहेको छ । चुन ढुंगाको खानीको रूपमा शारदा नगरपालिका ६, खामेलेक प्रख्यात मानिन्छ । तीन दशकअघि खानी तथा भूगर्भविदको एक टोलीले अनुसन्धानका क्रममा चुनढुंगा खानीबाट एक सिमेन्ट उद्योगका लागि सय वर्षसम्म प्रयोग गर्न सकिने जनाएको थियो ।

तर अहिलेसम्म कुनै पनि निकायबाट चुनढुंगा उत्खनन प्रक्रिया अगाडि बढाइएको छैन । दुई पटकसम्म केही व्यापारीले चुनढुंगा उत्खननका लागि प्रक्रिया अगाडि बढाए पनि सरकारी निकायबाट स्वीकृति पाउन नसकेपछि खानी अलपत्र अवस्थामा रहेको छ ।

विश्वकर्मा सिमेन्ट उद्योगले सरकारसँग सम्झौता गरेको सुन्नमा आए पनि अहिलेसम्म अवलोकन गर्नसमेत कोही नआएको स्थानीय चन्द्रबहादुर बुढाथोकीले बताए। यहाको चुनढुंगा उत्खनन गर्न सके धेरैले रोजगारी पाउन सक्ने उनको भनाइ छ ।

उनले गाउँमै रोजगारी पाए काम खोज्दै भारतका विभिन्न सहर जानुपर्ने अवस्था अन्त्य हुने समेत बताएका छन् ।‘हाम्रै गाउँठाँउमा रोजगारीका विभिन्न अवसरहरू छन तर सम्बन्धित निकायले त्यस तर्फ ध्यान दिएको पाइदैन उनले भने,अनि घरबार चलाउन र दुइचार पैसा कमाउन कालापहाड नगइ हुंदैन् ।’

सम्बन्धित निकायको बेवास्ताले खनिजले भरिएको खामेलेक बेकामे बनेको स्थानीयको गुनासो रहेको छ । ‘यत्रा सम्पदा सरकारी बेवास्ताले वर्षौंदेखि अलपत्र छन, खनिजलाई सदुपयोग गर्न सके स्थानीयको आम्दानी बढ्नुका साथै गाउँमै रोजगारी पाइन्थ्यो,अर्का स्थानीय रुद्र बहाचलाउने ले भने,हामीले पटक–पटक विभिन्न निकायमा ध्यानाकर्षण गराए पनि बेवास्ता भइरहेको छ ।’

यता शारदा नगरपालिका ६ का वडाध्यक्ष भिकराज बुढाथोकीले स्थानीय तहको आर्थिक स्थिति बलियो बनाउन विभिन्न कर बढाउनुभन्दा खनिज तत्व उत्खनन गरी बिक्री गर्न सके राम्रै आम्दानी गर्न सकिने बताएका छन् । उनका अनुसार सरकारी प्रक्रिया जटिल भएकाले खानी उत्खननमा समस्या भएको हो ।‘चुनढुंगा उत्खनन गरी बिक्री गरे जिल्लाको विकासमा ठूलो टेवा पुग्थ्यो, धेरैले रोजगारी पाउथे,उनले भने, युवालाई रोजगारीका लागि अन्य मुलुक गएर दुख्ख पनि गर्नु पर्दैनथ्यो ।’

शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले चुनढुंगा उत्खनन गर्ने प्रक्रिया केन्द्र वा स्थानीय सरकार कसको हुने निक्र्योल नहुँदा समस्या भएको बताए ।‘चुनढुंगा उत्खनन गर्दा आसपासका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने हुन्छ । उनीहरूको जमिन खरिद गर्नेदेखि धेरै प्रक्रिया अपनाउनुपर्ने हुन्छ, नगरप्रमुख अधिकारीले भने,कानुनी जटिलताले अहिले उत्खननमा समस्या भएको छ ।’ नगर प्रमुख अधिकारीले चुन ढुंगा उत्खननका लागी सर्वदलीय,सर्वपक्षीय बैठकको आयोजना गरी यसबारे आवश्यक निर्णय गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया