गिट्टी कुटेर जीवन धान्दै कुमाल दम्पती

रामपुर । रामपुर नगरपालिका–६ तिलकपुर बस्ने जुद्धबहादुर कुमाल र उहाँकी श्रीमती फुलमायालाई गिट्टी नकुटेसम्म साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय छैन ।

कालीगण्डकीका किनार, खोला छेउछाउमा दिनभर गिट्टी कुटेर कुमाल दम्पतीले जीवन धान्दै आएका छन् । ‘बिहान उठ्यो खाना खायो, नदी खोला किनारमा पुग्यो गिट्टी कुट्यो साँझ अबेर घर फर्कने गर्छौं, यसरी नै निरन्तर जीविका चलिरहेको छ’, फुलमायाले भनिन् ।

साँझ बिहान घरको काम सकाएर दिनभर श्रीमान्सँगै गन्थनमन्थन गर्दै गिट्टी कुट्दा दिन गएको पत्तो नभएको फुलमाया बताउछिन् । ‘बाँचुञ्जेलसम्म श्रीमान् श्रीमती यसरी नै सँगै बसेर काम गर्न पाउँदा रमाइलो भइरहेको छ, धन कमाउनकै निम्ति अन्यत्र जानुपर्दैन’, उनले भनिन् ।

दिनभर श्रीमतीसँग काम गर्न पाउँदा आनन्द लागेको ५७ वर्षीय जुद्धबहादुर बताउछन् । ‘गिट्टी कुटे मात्र भयो, गाडी लिएर कुटेकै ठाउँमा खरीद गर्न आउँछन्, साँझ दाम बुझ्यो घर गयो, त्यसैबाट हातमुख जोर्ने हो’, जुद्धबहादुरले भने ।

कुमाल दम्पतीले गिट्टी कुटेर दिनमा एक हजार ५ सय देखि दुई हजारसम्म कमाइ गर्छन् । यही कमाइबाटै घरमा साँझ बिहान चुलोमा आगो बल्छ । ‘गिट्टी कुट्न थालेपछि छोराबुहारीसँग दुई चार पैसा माग्न परेको छैन, दुई जनाको जीवन गिट्टी कुटेरै भए पनि सुखसँग बितेको छ’, जुद्धबहादुरको भनाइ छ । सोही ठाउँका अर्का ६२ वर्षीय तुल्सीराम कुमाल पनि दिनभर नदी किनार, खोलामा ढुं्गा बटुलेर गिट्टी कुटछन् । उनले दिनमा आठदेखि दश बोरासम्म गिट्टी कुट्छन् । दैनिकजसो ५ सय देखि ७ सयसम्म आम्दानी गरिरहेको उनले बताए ।

‘आफ्नो खर्च मज्जाले पुगेको छ, समयको सदुपयोग पनि भएको छ, अर्कासँग दुईचार पैसा माग्न परेको छैन, छोराबुहारीले पैसा माग्दा वचन लाउलान् भन्न नि परेन आफैँ कमाइ गरेपछि’, कुमालले भने । प्रतिबोरा ६० मा धमाधम गिट्टी बिक्री भइरहेको छ । जहाँ गए पनि कर्म गर्ने भएकाले विदेशतिरै जानुभन्दा आफ्नै गाउँमा बसेर पनि महीनामा हजारौँ कमाउन सकिने उनको भनाइ छ ।

रामपुर नगरपालिका क्षेत्रमा घर भवन बन्ने क्रम बढ्दै गएपछि गिट्टी कुटेर आम्दानी गर्ने गतिलो माध्यम बनेको छ । आफ्नै गाउँमा गिट्टी कुट्न लाज मान्ने युवा विदेशमा गएर मरुभूमिमा कडा परिश्रम गर्न बाध्य छन् तर कुमाल दम्पतीको व्यवसाय सबैका लागि उदाहरणयोग्य छ ।

प्रतिक्रिया