सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

तुलसीपुर । जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थामा यहाँको विद्यालयमा विद्यार्थी चाप बढ्दो छ । तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको हो । विद्यार्थी अभावले कतिपय विद्यालय एक अर्कोमा गाभ्नुपर्ने अवस्था छ ।

कुनै समय यहाँ विद्यार्थी अभावका कारण विद्यालय भर्ना अभियान सञ्चालन गर्नुपरेको थियो तर अहिले विद्यार्थीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । पछिल्लो समयमा सामुदायिक विद्यालयमा पनि शैक्षिक गुणस्तर वृद्धि तथा कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थीको चाप बढेको हो । विद्यालयले उत्कृष्ट नतिजासमेत ल्याउन थालेको छ । ०११ सालमा स्थापना भएको सो विद्यालयमा हाल निजी विद्यालयका विद्यार्थीसमेत पढ्न आउने गरेका छन् ।

एक दशकअघि कक्षा १ मा २५ देखि ३० विद्यार्थी पढ्ने सो विद्यालयमा अहिले नर्सरीदेखि १२ कक्षासम्म १ हजार ५ सय १८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ६ देखि ९ सम्म तीन श्रेणीमा विभाजन गरी पढाउनुपर्ने अवस्था छ । त्यस्तै, नर्सरीमा २८ तथा कक्षा १ मा ६३ विद्यार्थी अध्ययनरत छन् । अंग्रेजी माध्यमबाट शिक्षण सुरु गरेपछि अभिभावकको विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले बताए । बर्सेनि विद्यार्थी बढ्दै गएपछि अहिले प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्न थालेको उनको भनाइ छ । विद्यालयमा न्यून दृष्टियुक्त विद्यार्थीले समेत अध्ययन गर्ने गरेका छन् । ‘पहिले विद्यार्थी खोज्नुपर्ने थियो अहिले रोज्नुपर्ने अवस्था छ’, विद्यालयका शिक्षक लेवेन्द्र केसीले भने ।

उपमहानगरपालिकाका–३, ४, ५, ६ र ७ का विद्यार्थी अध्ययनका लागि यहाँ आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणवकुमार खड्का बताउँछन् । आव ०७४-७५ मा जिल्लामै उत्कृष्ट सामुदायिक विद्यालयको छनोटमा परी जिल्ला शिक्षा कार्यालयबाट १० लाख रुपैयाँ पुरस्कारसमेत पाएको छ । त्यस्तै, गतवर्षदेखि नमुना विद्यालयका लागि छनोट भई १ करोड रकमसमेत भौतिक निर्माणका लागि पाएको छ । यस आवदेखि विद्यालयले प्राविधिक शिक्षा बाली विज्ञान तीन वर्षे डिप्लोमा पढाइ सञ्चालन गरेको छ ।

प्रतिक्रिया