‘प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याऊ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन सरकारलाई सुझाव दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले काम नगर्नेलाई दण्डित गर्न तथा अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न सरकारको ध्यानाकर्षण गराए ।

पूर्व–प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘अराजकतालाई नियन्त्रण गरिएन भने राज्य कमजोर हुन्छ, अहिले डर भन्ने कुरा हराएको छ, गलत काम गरे भने मलाई पनि सजाय हुन्छ भन्ने कुरा रहेन ।’ कम बोल्ने अरूका कुरा धेरै सुन्ने बानीको विकास हुन आवश्यक रहेको बताउँदै उनले भने, ‘राज्यबाट विषयवस्तुको अध्ययन, अनुसन्धान, अनुगमन, मूल्यांकन र दण्ड सजायको व्यवस्था हुन आवश्यक छ ।’ विनामिहिनेत रातारात धनी हुने प्रवृत्ति अहिले हाबी हुँदै गएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेसम्म जनताले सहज रूपमा सेवासुविधा प्राप्त गर्न र राज्य विकासको पथमा अघि बढ्न नसक्ने बताए ।

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले अहिलेको युग भनेको आर्थिक समुन्नति र समृद्धि युग भएको बताए । उनले भने, ‘अहिलेको मूल ऐजेन्डा नै आर्थिक समृद्धि हो, जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट विकासको प्रशस्त सम्भावना छ, त्यसका लागि शान्ति सुरक्षा, कायम गर्ने वातावरण, प्रविधिको प्रयोग र उद्यमशीलता आवश्यक छ ।’

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारीले हाम्रा उत्पादनलाई स्थानीय र अन्तर्राष्ट्रियकरण गर्न नसक्दा मुलुकले आर्थिक प्रगति हासिल गर्न नसकेको धारणा व्यक्त गरे । अर्थविद् नारायण तिवारीले सरकार र व्यवसायीबीच देखिएको अविश्वास हटाएर मुलुकको समृद्धिका लागि एकाकार भएरै अघि बढ्दा देश र दुनियाँको भलो हुने बताए । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले साना उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने कुरामा सरकारबाट आवश्यक सहयोग नभएको गुनासो गर्दै सातै प्रदेशमा औद्योगिक करिडोर स्थापना गर्न महासंघले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उपाध्यक्ष कुमार कार्की र महासचिव टेकबहादुर शाक्यले संस्थाको वार्षिक प्रतिवेदन र उद्योग व्यवसाय क्षेत्रमा देखिएका समस्या र निराकरणका लागि चाल्नुपर्ने उपायका बारेमा धारणा व्यक्त गरे ।

प्रतिक्रिया