चलचित्रको ट्रेलरमा कर्पोरेट लभ

काठमाडौं । सामाजिक प्रेमकथामा आधारित चलचित्र ‘जानी नजानी’ को शुक्रबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज भएको छ । आगामी १ चैत्रबाट रिलिज हुने चलचित्रको ट्रेलरमा देव बनेका मनिष श्रेष्ठ र मीरा बनेकी निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतारचढाव देखाइएको छ । यी दुवैजना कर्पोरेट व्यवसाय पेशामा छन् । उनीहरु पेशाकै क्रममा निकट भएको र त्यसपछि प्रेमसम्बन्धमा रहेको विषयलाई देखाइएको छ ।

त्यस्तै, चलचित्रमा चिराग बनेका सन्नी सिंह र मिरा बनेकी निरिशाबीच प्रेमसम्बन्ध टुटेको र सो सम्बन्धले मिराको जीवनलाई पीडायुक्त बनाएको ट्रेलरमा उल्लेख छ । त्यो सम्बन्ध तोड्न वर्षा बनेकी अभिनेत्री नम्रता श्रेष्ठको महत्वपूर्ण भूमिका ट्रेलरमा देखिन्छ । यो चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीको अभिनय छ ।

वसन्त अधिकारीले निर्देशन गरेको यो चलचित्रमा आफूहरुले कर्पोरेट स्तरको प्रेमलाई उठान गरिएको निर्माण पक्षले जनाएको छ । विगत आठ वर्ष अघिदेखि आफू र सामिप्यराज तिमिल्सिनाले यो स्क्रिप्ट तयार गरेको र एउटा राम्रो स्क्रिप्टमा सिनेमा बनाएको निर्देशक अधिकारीले दाबी गरे ।

चलचित्रमा आफूले सक्दो मिहिनेत गरेको अभिनेता मनिष श्रेष्ठले बताए । अभिनेत्री निरिशा बस्नेतले आफ्नो यो पहिलो चलचित्र भएको र यसबाट आफू निकै उत्साहित तथा आशावादी रहेको बताइन् ।

चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । लेखक तिमल्सिनाले चलचित्र ड्रिमपछि आफूले लेखेको यो उत्कृष्ट लभस्टोरी फिल्म भएको जिकिर गरे । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागरकाजी मालीको निर्माण रहेको छ ।

प्रतिक्रिया