ज्याकले इन्कार गरे भारतीय संसद्को निम्तो

एजेन्सी, नयाँदिल्ली । भारतमा सूचना तथा प्रविधिसम्बन्धी संसदीय समितिले ट्विटरका सिइओ ज्याक डोर्सेलाई संसद्मा उपस्थित हुन बोलाएकोमा ज्याकले यस्तो आग्रह अस्वीकार गरिदिएका छन् । बरु ट्विटरले उनको सट्टा कम्पनीका ‘पब्लिक पोलिसी’ प्रमुख कोलिन क्रोबेललाई पठाउने निर्णय गरेको थियो ।संसदीय समितिले भने कनिष्ठ अधिकारीलाई अस्वीकार गर्दै मालिक ज्याकलाई नै फेब्रुअरी २५ अघिसम्म भारतमा बोलाएको हो । नागरिकका डाटाको गोपनीयताबारे चासो उठिरहेकोमा तिनलाई कसरी सरक्षित गर्ने तथा आगामी चुनावको वेला त्यसलाई प्रभावित पार्ने गरी सोसल मिडियाको दुरुपयोग हुनसक्ने बारे छलफलका लागि संसद्मा उनलाई बोलाइएको थियो ।

ज्याकले भने ‘ट्विटरको धारणा बुझ्न हामीलाई निमन्त्रणा गरेकोमा संसदीय समितिलाई धन्यवाद’ भन्दै संसद्मै उपस्थित हुन नसक्ने जवाफ पठाएका हुन् । यद्यपि, ट्विटरलाई राजनीतिक पूर्वाग्रह राखेको तथा डाटा दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । भारतकै संसद्मा समेत यसबारे प्रश्न उठेको थियो । तर, ट्विटरले राजनीतिक आदर्शमा आफूहरू कहिल्यै पूर्वाग्रही नहुने प्रतिबद्धता जाहेर गर्दै आएको छ ।

प्रतिक्रिया