महिला विश्वकप क्रिकेट छनौट : एसिया छनोटमा नेपालको दोस्रो जित

काठमाडौं । नेरी थापाले करियरको उत्कृष्ट प्रदर्शनसँगै नेपालले महिला ट्वान्टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्रको छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध जित निकाल्दै दोस्रो सफलता हात पारेको छ । थापाले चार विकेटको लिएको खेलमा थाइल्यान्डको बैंककस्थित तेर्थाई क्रिकेट मैदानमा शुक्रबार नेरीको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले युएईविरुद्धको ७ विकेटको सफलता निकाल्दा तेस्रो खेलमा दोस्रो जित प्राप्त गरेको हो । यस खेलमा नेपालले अहिलेसम्मकै दोस्रो ठूलो सफलता निकालेको छ । बलिङको उत्कृष्ट साथ पाएको नेपालले युएईलाई ४१ रनमा समेटेको थियो । जुन योगफल अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा नेपाली महिला टोलीका लागि दोस्रो कम लक्ष्य हो ।

यसअघि थाइल्यान्डमै भएको स्म्यास अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले इन्डोनेसियालाई २७ रनमा समेटेको थियो । शुक्रबार नेरीले ३.३ ओभरमा एक मेडन राख्दै ४ विकेटसहित ६ रन मात्र खर्चिएको खेलमा युएईका लागि चमिना सेनेभिरात्नाले मात्र दोहोरो अंकमा रन बटुल्न सकिन । नेपालको धारिलो बलिङसामू युएईका अन्य कुनै पनि खेलाडी क्रिजमा लामो समय रहन सकेनन् ।

नेपालको बलिङमा सीता रानामगर, कविता कुँवर र सोनु खड्काले थप २–२ विकेट निकालेपछि युएई निर्धारित २० ओभरसम्म क्रिज टिक्न सकेन । नेरीले लिएको ४ विकेट ट्वान्टी– २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको लागि दोस्रो उत्कृस्ट बलिङ फिगर हो । यसअघि गत महिना थाइल्यान्डमा सम्पन्न स्म्यास अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा रुविना क्षेत्रीले इन्डोनेसियाविरुद्ध ३.१ ओभरमा २ मेडन ओभरसहित २ रन खर्चेर ४ विकेट लिएकी थिइन् ।

जुन सबैभन्दा उत्कृस्ट स्पेल हो । सोही प्रतियोगितामा पनि सरिता मगरले ४ विकेट लिएकी थिइन् । शुक्रबार १७.३ ओभरसम्म मात्र ब्याटिङमा टिक्न सकेको युएईले ४१ रनको झिनो योगफल तयार पारेको थियो । चमिनाले २९ बल खेल्दै १३ रन बनाउँदै युएईका लागि एक मात्र बाउन्ड्री चौका प्रहार गरिन् । जबाफमा नेपालले १०.२ ओभरमा ४५ रन बनाउँदै ५८ बल अगाडि सहजै जित निकाल्यो ।

यद्यपि, नेपालले पनि ६.५ ओभरमा २३ रन बनाउँदा २ विकेट गुमाइसकेको थियो । जसमा नेपालका ओपनर सीता रानामगर ६ रनमा आउट हुँदा डेब्यू गरेकी अप्सरी बेगम खाता नखोल्दै पवेलियन फर्किन् । अर्की ओपनर काजल श्रेष्ठ पनि १५ रनमा आउट हुँदा नवौं ओभरमा नेपालको तीन विकेट पतन हुँदा ४१ रन थियो ।  त्यसबीचमा कप्तान रुविनाले अविजित १८ रनको इनिङ खेल्दै नेपाललाई जित दिलाइन् । त्यसक्रममा १७ बल खेलेकी रुविना दुई चौका र एक छक्का हिर्काइन् । युएईको बलिङमा इशा रोहितले दुई विकेट निकाल्दा काभिसा इगोडागेले एक विकेट निकाले पनि नेपालको जित रोक्न सकेनन् ।  यसअघि पहिलो खेलमा मलेसियालाई हराएको नेपालले दोस्रो खेलमा भने थाइल्यान्डसँग हार बेहो¥यो ।

प्रतिक्रिया