नेपाल आमाको अनुहार !

बलराम तिमल्सिना

एउटा मजदूरको आँखामा
आफ्नी नेपाल आमा
फाटेको चोलो लगाएकी
अनुहारमा
बुढ्यौलीभन्दा दोब्बर गरिबीका मुजा परेकी
पेरुंगोजस्तै पेट
खरबारीजस्तै कपाल
खडेरीको खेतजस्तै पैताला भएकी
लुम्री, झुम्री र ख्याउटी देखिन्छिन्
एउटा श्रमिकको आँखामा नेपाल आमा
भोकले सताइएकी
रोगले थला परेकी
साहुको हातपातको निलडाम बोकेकी
निरीह निरुपाय र संत्रस्त छिन् !

एउटा शासकको आँखामा नेपाल आमा
गहुँगोरी
चुच्चो नाक भएकी
सारी र चोलीमा सजिएकी
उमेरले आएको बुढ्यौली
खानपान र ऐश आरामले दबाएकी
सरकारी भाषामा बोल्ने
राधेकृष्ण जप्दै गरेकी
मन्द–मन्द मुस्कुराउँदै
लाली गुराँससँग
आफ्ना गालाको तुलना गर्दै गरेकी
प्रसन्न मुद्रामा
चन्द्र सूर्य झण्डा बोकेर
कम्मर मर्काइरहेकी
कुनै मन्त्री या सभासद्जस्ती
अझ हुन सक्छ राष्ट्रपतिजस्ती
सानमान र शौर्यले परिपूर्ण
सुख शान्तिले सम्पन्न
हाँसी खुसी देखिन्छिन् !

मधेश तराईकी नेपाल आमा
अझ बेग्लै रंगकी छिन्
सारी चोलोमा
टाउकोमा ढकी
र,
ढकीमा आलु, भन्टा र काउली बोकेर
घामले डढेको कालो अनुहारमा
दायाँ हात बेस्सरी हल्लाउँदै
देब्रे हातले ढकी समाउँदै
ती जोड जोडले कराउँदै हुन्छिन्–
‘ए, आयो रे आलु, भन्टा, कोवी !’
या ती कसैको खलोमा
भुसको थुप्रोबाट
धान खोज्दै हुन्छिन्
या ती खेतको आली खोतलेर
मुसा खोज्दै हुन्छिन्
या ती भक्का या ढिक्री पकाउँदै हुन्छिन्
अन्नको सट्टा औँला चुसाएर
ती नानी फकाउँदै हुन्छिन् !

माथि पहाडतिर बस्छिन्
अर्कै नेपाल आमा
तिनको नाक सरकारी हुँदैन
ती पेरुंगामा कुखुराको भाले बोकेर
माइत गइरहेकी हुन्छिन् कतै
रूखको टुप्पामा चढेर
घाँस झारिरहेकी हुन्छिन् कतै
काँखमा च्यापेर सानु नानी
गिट्टी कुटिरहेकी हुन्छिन् कतै
अभावको हाँडीमा
रहरको घान हालेर
दुःख भुटिरहेकी हुन्छिन् कतै,

कतै साकेला नाचिरहेकी,
कतै सेलोमा झुमिरहेकी,
कतै धान नाचमा व्यस्त,
कतै रोधीमा कतै टप्पामा
थरिथरीका भाषा बोल्ने
थरिथरीका भेषभूषामा
थरिथरीका भावभंगीमा हुन्छिन् !

हरेक नश्ल, जात, रंग र वर्गका नेपालीले
नेपाल आमाको अनुहारमा
ठ्याक्कै आफ्नै आमा देख्छन् !

तर,
हामीलाई आजसम्म देखाइएकी नेपाल आमा
एउटै भेषभूषामा हुन्छिन्
एउटै भाषा बोल्छिन्
र एकथरीलाई मात्र माया गर्छिन्
ती सरकारी नेपाल आमा हुन् !

एउटा त्यस्तो चित्रकारको खाँचो छ
जसले यस्तो चित्र बनाओस्–
त्यस चित्रमा हरेकले
आफ्नै आमा देखोस् !

वर्षौंदेखि जो जो टुहुरा छन्
तिनीहरू पनि खुसीले चिच्याउन
‘आहा मेरी पनि आमा,
हाम्री नेपाल आमा !’

प्रतिक्रिया