गुञ्जिए प्यासी

काठमाडौं । नेपाली सुगम संगीतको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित ‘नरेन्द्र प्यासी एकल सांगीतिक साँझ–२०७५’ मा सम्पन्न भएको छ । नाचघरको मुख्य हलमा बिहीबार बेलुका साढे ५ देखि सुरु भएको साँझमा गायक नरेन्द्र प्यासीले डेढ दर्जन बढी गीत गाए ।

‘के भुल भयो प्रिया मसँग बोल्दिनौ
उज्यालो जुन उघार्दै पर्दा रातको खोल्दिनौ…’
यो कालजायी गीतमार्फत गाउन सुरु गरेका प्यासीले दर्शकलाई मनोरञ्जन प्रदान गरे । अग्रज गीतकार एवं चलचित्र निर्देशक यादव खरेलको आतिथ्यमा सुरु भएको साँझमा प्यासीले गीत गजलमार्फत दर्शकलाई तताए ।

कार्यक्रममा उनले एकपछि अर्को गर्दै आफ्ना चर्चित गीत सुनाए । करिब दुई घन्टाको बसाईमा दर्शकले यी गायकका लोकप्रिय गीतमा रम्दै निरन्तर तालीले साथ दिए । के भुल भयो प्रिया…गीतबाट कार्यक्रम सुरु गरेका गायक प्यासीले दोश्रो गीत गाउनुअघि नै दर्शक दीर्घाबाट वान्स मोरको आवाज आयो । अरू पनि आफ्ना लोकप्रिय गीतहरू छन् भन्दै उनले दोस्रो गीत तिमीले दिने मायाँ…गाए । यो गीतमा उनलाई महिला स्वरमा शिला बिष्टले साथ दिइन् ।

एकपछि अर्को गर्दै गायक प्यासीले तिमी विनाको जीवन…, तिम्रो दिलमा चोट लाग्दा…, म त तिम्रो मान्छे बन्न सकिन... जस्ता चर्चित गीतहरु सुनाए ।

आफ्नो एकल साँझलाई निरन्तरता दिने क्रममा गायक प्यासीले एउटा परदेशी आयो…, मनलाई…, माया ओ माया…, जाम क्यारे उडेर…, मेहफिलमा आज…, नजर पापी…, चन्द्रमाले…, फुलको दीलमा पनि…, काठमाडौं छुट्यो हेर्दा हेर्दै…जस्ता चर्चित गीतहरु गाए ।
उक्त साँझमा गायक प्यासीलाई प्रत्यक्ष बाद्यवादनमा दिनेशराज रेग्मी, दीपक थापा, सुरज प्रधान, अनुप दास, कुमार महाराज, भरत बुढाथोकी, सुधिर चौधरी, रविन कार्की, रुपेस सिंह, रत्न विक र भुवन गन्धर्वले सघाएका थिए ।

विगत ६ वर्षदेखि अमेरिका बस्दै आएका गायक प्यासी एकल साँझका लागि काठमाडौं आएको बताए । यो एकल साँझ आफूले सोचेको भन्दै निकै सफल भएको गायक प्यासीले सुनाए । सांस्कृतिक संस्थानले आयोजना गरेको कार्यक्रममा संस्थानका तर्फबाट गायक प्यासीलाई सम्मानित गरिएको थियो । नेपाली गायन क्षेत्रमा विगत चार दशकभन्दा लामो समयदेखि सुगम संगीतबाट योगदान पु¥याएको भन्दै एकलसाँझको आयोजनासहित प्यासीलाई सम्मानित गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।

यस्तै, संस्थानका अध्यक्ष उधोग राईले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका उद्देश्यबारे प्रकाश पारे ।
२०२२ सालमा काठमाडौंको खिचापोखरीमा बुबा प्रतिमान भुषाल र आमा पद्मकुमारीको कोखबाट जन्मिएका प्यासीले अम्बर गुरुङसँग संगीत सिकेर गायन यात्रा सुरु गरेका थिए । गायक प्यासीले ०३० सालमा झलकमान गन्र्धव र बुबा स्व. प्रतिमानको संगीतमा पहिलो गीत बिना बादल असिना पानी, फेरि माया लाउलीकी बैमानी…गीत रेकर्ड गराएका थिए । यो आफ्नो गायन करिअर सुरु गरेका प्यासीले हालसम्म करिब ४०० गीत रेकर्ड गराइसकेका छन् ।

उनका गीतहरुमा राष्ट्रिय भावको गीत, भजन, आधुनिक, नेपाली हिन्द (गजल), लोक र नेपाली चलचित्रका गीतहरु पर्दछन् । प्यासीका चर्चित गीतहरु मध्य के भुल भयो प्रिया…, तिमीले दिने मायाँ अजम्बरी छ भने…, तिमी बिनाको जीवन.., तिम्रो दिलमा चोट लाग्दा…, म तिम्रो मान्छे बन्न सकिनँ…, माया ओ माया…, एउटा परदेशी आई…, काठमाडौं छुट्यो हेर्दा हेर्दै…लगायत दर्जनाँै छन् ।

प्रतिक्रिया