ब्रेक्जिटका बारेमा प्रगति सकारात्मक – बेलायती प्रधानमन्त्री

एजेन्सी, ब्रसेल्स । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताएकी छन् । तर उनले वार्तामा ठोस सहमति भइनसकेको पनि बताइन् ।

इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट)को मिति छ हप्ताभन्दा कम रहँदा प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करसँग भेटवार्ता गरेकी छन् । उनले आयरल्यान्ड र युरोपेली युनियनमा आबद्ध मुलुकहरूबीचको सीमा व्यवस्थाका विषयमा सहमति खोज्ने प्रयत्न गरिरहेकी छन् । तर इयू नेताहरूले बेलायतसँग यसअघि भएको सम्झौताबाट पछि फर्कन नसक्ने बताएका छन् ।

बेलायत र इयुबीच कुनै औपचारिक सम्झौता बेगर नै बेलायतको बहिर्गमन पनि हुनसक्ने अनुमान गर्न थालिएका छन् । ब्रसेल्सतर्फ उड्नु केहीअघि उहाँकै कन्जरभेटिभ पार्टीका तीन जना सांसदले ब्रेक्जीटमा असहमति जनाउँदै राजीनामा दिएका छन् ।

उनीहरू सांसदहरूको नयाँ स्वतन्त्र समूहमा आबद्ध भएका छन् । बेलायतको संसदले प्रधानमन्त्री मे को ब्रेक्जीट प्रस्तावलाई यसअघि जनवरी १५ मा अस्वीकृत गरिसकेको छ । तर उनको प्रस्ताव अस्वीकृत भएसँगै प्रतिपक्षी लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध ल्याएको अविश्वासको प्रस्ताव भने पारित भएको थिएन ।

बेलायती राजनीतिमा नाटकीय मोड लिइरहेको ब्रेक्जीटका सन्दर्भमा सांसदहरूले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला र निर्वाध आवागमन हुन नहुने अडान राख्दै आएका छन् । उनीहरूको भनाईमा निर्वाध आवागमन यथावत राखिए बेलायतको इयूसँगको पुरानै सम्पर्क र सम्बन्ध कायम रहन्छ, र त्यसबाट ब्रेक्जीट सम्झौता कार्यान्वयन सम्भव हुँदैन ।
गत वर्ष नोभेम्बर २५ मा बेलायती प्रधानमन्त्रीले इयूसँग गर्नुभएको प्रस्तावित ब्रेक्जीट सम्झौतामा आइरिस सीमा खुला राख्ने सहमति भएको थियो । इयूले उक्त सहमतिमात्र स्वीकार्य हुने बताउँदै आएको छ ।

बेलायती जनमत पनि ब्रेक्जीटका बारेमा अझै विभाजित छ । केहीले दोस्रो जनमतसंग्रह गर्नुपर्ने निरन्तर माग गरिरहेका छन् भने केहीले पूर्व जनमतकै आधारमा इयुबाट बेलायत बाहिरिनुपर्ने बताएका छन् । ब्रेक्जीटका बारेमा इयुसँग भएको सम्झौताबमोजिम बेलायत यही मार्च २९ तारिखबाट बाहिरिनुपर्नेछ ।

प्रतिक्रिया