आइएसमा लागेकी किशोरीको नागरिता बदर

एजेन्सी, लन्डन । १५ वर्षको उमेरमा सन् २०१५ मा आफ्नो देश बेलायत छोडेर सिरियामा पुगी आइएस लडाकुसँग विवाह गरेकी किशोरी शमिमा बेगमले आफ्नो देशको नागरिकता गुमाउनुपर्ने भएको छ । अहिले १९ वर्षकी ती किशोरीका बारेमा बेलायती सरकारको स्रोतले बिबिसीलाई बताएअनुसार उनी अर्कै देशको नागरिकताका लागि योग्य भएकोले बेलायतले नागरिकता नदिन सक्छ ।

उनका वकिल तास्निम अकुन्जेले आफू बेलायती सरकारको निर्णयबाट निराश भएको र कानुनका अन्य बाटाहरू खोजिरहेको बताएका छन् ।  बेगलमले सन् २०१५ को फेबु्रअरीमा पूर्वी लन्डन छोडेकी थिइन् । सिरियाको बाग्जुमा रहेको आफ्नो नियन्त्रण आइएसले गुमाएपछि उनी गएको साता सिरियाको एक शरणार्थी शिविरमा फेला परेकी थिइन् । उनले हालै मात्रै एउटा छोरालाई पनि जन्म दिएकी छन् ।

उनले बिबिसीसँगको कुराकानीमा अब आफू लन्डन गएर शान्तिपूर्ण जीवन बिताउन चाहेको बताएकी छन् ।  सन् १९८१ को बेलायती कानुनले कुनै पनि व्यक्ति नागरिकताबाट वञ्चित हुँदा सार्वजनिक हित हुन्छ र त्यो व्यक्ति राज्यविहीन हुनुपर्दैन भन्ने कुरामा गृहमन्त्री सहमत भएमा नागरिकताबाट बन्चित गर्न सकिने जनाइएको छ । बेगमले आफू आफ्नी दिदीको बेलायती पासपोर्ट प्रयोग गरी सिरिया गएको तर सिरिया गएपछि सो पासपोर्ट खोसिएको बताएकी छन् ।

उनी बंगलादेशी मूलको भए पनि बंगलादेशको पनि उनीसँग पासपोर्ट छैन । साथै, उनी अहिलेसम्म बंगलादेश पनि गएकी छैनन् । उनी आइएस लडाकुले लडाईँ गरेको भिडियोबाट प्रभावित भएर त्यतिबेला बेलायत छोडेको बताएकी छन् । उनीसँगै त्यतिवेला तीन जना स्कुले किशोरीले बेलायत छोडेका थिए । उनीसँग देश छोड्नेमा कादिजा सुल्ताना र अमिरा अबेस पनि थिए । सुल्ताना मारिएको ठानिएको छ भने अबेस पनि बेपत्ता छन् । (बिबिसी)

प्रतिक्रिया