कर्मचारी समायोजन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले कर्मचारी समायोजन विधेयक २०७५ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सो सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यस्त ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ समेत दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । बैठकमा ती दुवै प्रस्तावलाई कानूनमन्त्रीका तर्फबाट सामान्य प्रशासनमन्त्री पण्डितले प्रस्तुत गरेका थिए । दुवै प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

बैठकको सुरुमा राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लेखा परीक्षण विधेयक २०७५ र जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ लाई टेबुल गरेका थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड निर्धारण विधेयक, २०७५ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निवृत्तभरण कोष विधेयक २०७५ तथा प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त ‘राहदानी विधेयक २०७५ का सम्बन्धमा समितिका प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १२ गते अपराह्न २ः३० बजे बस्नेछ ।

प्रतिक्रिया