‘सीताराम मास्के स्मृति सेपाकताक्रो तयारी गर्नुहोस्’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले सीताराम मास्के स्मृति राष्ट्रिय सेपाकताक्रो प्रतियोगिता आयोजनाका लागि नेपाल सेपाकताक्रो संघलाई तयारी गर्न भनेका छन् । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) र सेपाकताक्रो संघको संयुक्त आयोजनामा सोमबार सम्पन्न सेपाकताक्रोको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कोर्समा सदस्य–सचिव विष्टले प्रतियोगिताका लागि तयारी गर्न भनेका हुन् ।

‘प्रत्येक वर्ष (सीताराम मास्के) को स्मृतिमा प्रतियोगिता आयोजना गर्ने गरी तयारी थाल्नुहोस् । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्ले सक्दो सहयोग गर्नेछ ।’ सेपाकताक्रो संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका सदस्य–सचिव विष्टले भने । स्व. मास्के सेपाकताक्रो संघका संस्थापक अध्यक्ष हुन् । ६ दिने कोर्समा विभिन्न २० जिल्लाबाट २४ को सहभागिता रहेको थियो ।

त्यसमा संखुवासभाका मेघराज तोलंगी, नवलपुरका विजय महतो र सप्तरीकी कल्पना कुमारी चौधरी क्रमशः शीर्ष तीन स्थानमा रहे । सहभागीलाई थाइल्यान्डका प्रशिक्षक सोकितले प्रशिक्षण दिएका थिए । सहभागीलाई सदस्य–सचिव विष्टले एक कार्यक्रमका बीच प्रमाण पत्र प्रदान गरे ।

प्रतिक्रिया